ad ad

राजनीति


ओलीले नाटकीय ढंगबाट संसदको हत्या गरे : पूर्व शिक्षामन्त्री पोखरेल

ओलीले नाटकीय ढंगबाट संसदको हत्या गरे : पूर्व शिक्षामन्त्री पोखरेल

नेपालखबर
पुस १२, २०७७ आइतबार १४:५०,

नेकपा नेता तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नाटकीय ढंगले संसदको हत्या गरेको बताएका छन्।

बारामा आइतबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रका सबै मूल्यमान्यता, सिद्धान्तलाई अपहरण गर्दै लामो संघर्षबाट पाएको उपलब्धि ध्वस्त पार्ने काम गरे आरोप लगाए।

पोखरेलले पुष ५ गते घटेको घटनाले देशलाई प्रतिगमन तथा बहुआयामिक द्वन्दतर्फ लगेको बताउँदै यसले पार्टीका साथै समाजमा असर पारेको विचार व्यक्त गरे। प्रधानमन्त्रीको यो असंवैधानिक कदमलाई परास्त नगरे ओलीले लामो संघर्षपछि प्राप्त संविधानसमेत ध्वस्त हुने उनको भनाई छ।

पुस ७ गतेको घटित घटनालाई स्मरण गर्दै पोखरेलले भने ‘प्रधानमन्त्रीले बिहानै नाटकीय ढंगबाट मन्त्रिपरिषद बोलाउनु भयो । तर मन्त्रीहरु पुग्न र विचार राख्न नपाउँदै संसद विघटन र निर्वाचनमा जाने प्रस्ताव राष्ट्रपतिकोमा लग्नुभयो।’

ओलीको त्यो असंवैधानिक कदममा ल्याप्चे लगाएर राष्ट्रपतिले संविधानलाई मिचेको आरोप पोखरेलको छ। त्यसकारण आफूसहित ७ जना मन्त्रीले सोही दिन राजीनामा दिएको उनले बताए। उनले संविधानको धारा ७६ लाई अध्ययन गर्न सबैमा आग्रह गरे।

‘म संविधान निर्माणको बेला मस्यौदा कमिटीमा हुँदा महत्वपूर्ण छलफल भएको थियो। विगतमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा लगायतले गरेको संसद विघटन जस्ता घटनाक्रमले देश दुर्घटनामा गयो, जनमतको गलत दुरुपयोग गर्यो भनेर नै हामीले यो संविधान बनाउँदा अब प्रधानमन्त्रीलाई त्यो विशेष अधिकार दिनु हुँदैन भनेर हामीले यो धारा राखेका हौं’, पोखरेलले भने ‘संसद विघटनको लागि स्पष्ट व्यवस्थाहरु गरेको छ। तर संविधानले निर्दिष्ट गरेको अधिकारहरुको दुरुपयोग गरेर संसद विघटन गरिएकाले हामी यो कदम गैर संवैधानिक, अलोकतान्त्रिक भनेका छौं।’

उनले ओलीले चालेका असंवैधानिक कदमको विरुद्धमा मधेश नयाँ तरिकाले आउन जरुरी रहेको बताउँदै मधेश तराईका जनताहरु सशक्त ढंगेल अगाडि बढ्न आग्रह गरे। ओलीले कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धिमाथि गम्भीर ढंगले आघात गरेको बताए। पार्टीलाई ठीक ढंगले अगाडि बढाउन पार्टी प्रणलीलाई अंगिकार गर्न नेताकार्यकर्तामा आग्रह गरे।

पोखरेलले विचल्ली भएको राजनीतिलाई सहि दिशामा ल्याउनु जरुरी रहेको बताए। कतिपय कम्युनिष्ट आन्दोलनमा लागेका व्यक्ति लोभमा फसेर आत्मसार्पण गरेकाले अवसरवादीलाई सबैले चिन्न जरुरी रहेको सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .