राजनीति


चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री आउँदै, नेकपा विभाजनपछि चीनबाट पहिलो भ्रमण

चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री आउँदै, नेकपा विभाजनपछि चीनबाट पहिलो भ्रमण

नेपालखबर
पुस १०, २०७७ शुक्रबार १७:९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर दुई वटा पार्टी बने लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने तय भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आइतबार नेपाल आइपुग्ने टोलीले खासगरी नेकपाको विभाजनका कारण खोतल्ने बुझिएको छ।

नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ।

पूर्वएमाले र पूर्वमाओवादी एक भएर करिब तीन वर्षदेखि सञ्चालन गर्ने क्रममा नेकपाभित्र पटक पटक विवाद देखिएपनि पार्टी विभाजनसम्म पुगेर नेपालमा फेरि अस्थिरता सिर्जना हुन्छ भन्ने आँकलन बेइजिङले गरेको थिएन।

उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डलले चार दिन नेपालमा रहने क्रममा दुवै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीको नेतृत्वमा आउने टोलीले अध्यक्ष नेपालसँग भेट्नका लागि समय लिएको छ’, नेकपाका अध्यक्ष माधवकुमार नेपाल निकट एक नेताले भने, ‘चिनियाँ नेताहरूको नेपाल भ्रमण चार दिन रहेको बुझिएको छ।’

गुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन्। यसबीचमा बुल्गेरियाका लागि चिनियाँ राजदूत समेत रहेका गुओ सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत छन्।

विभागका चार जना उपमन्त्रीमध्ये गुओ सबैभन्दा सिनियर हुन्। अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओ छन्, जो राष्ट्रपति सी चिनिफङको गत वर्ष भएको भ्रमणको तयारीको क्रममा नेपाल आएका थिए। अन्तर्राष्ट्रिय विभागका मन्त्री र उपमन्त्रीहरूको पदीय मर्यादाक्रम, सुविधा र जिम्मेवारी राज्यपरिषदका विदेशमन्त्री र उपमन्त्रीहरूको बराबर हुन्छ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलपछि सेना प्रमुख, विदेश सचिव र सत्तारुढ भाजपाका नेताको भ्रमण लगत्तै नेपालमा भएका संसद विघटन र नेकपा विभाजनका घटनालाई बेइजिङले विभिन्न हिसावले विश्लेषण गरिरहेको देखिन्छ।

नेकपा विभाजन भएलगत्तै चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड र नेपालसँग भेटवार्ता गरेकी छन्। राजदूत होउले शुक्रबार नेकपा स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग पनि भेटिन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad