ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षको बैठक : नेकपा संसदीय दलको नेताबाट पनि हटाइयो ओलीलाई, प्रचण्ड नेता चुनिए

प्रचण्ड–नेपाल पक्षको बैठक : नेकपा संसदीय दलको नेताबाट पनि हटाइयो ओलीलाई, प्रचण्ड नेता चुनिए

नेपालखबर
पुस ८, २०७७ बुधबार ८:५३,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ।

ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाइएको छ।

मंगलबार अध्यक्ष चुनिएका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता चुनिएको स्थायी समिति सदस्य योगेश भट्टराईले बताए।

Prachanda Nepal samsadiyadalबैठकमा प्रचण्डलाई संसदीय दलको नेता चुनियोस् भन्ने प्रस्ताव गर्दै माधवकुमार नेपाल। तस्बीर : बिष्णु सापकोटा

बानेश्वरस्थित संसद भवनमा आज बुधबार भएको संसदीय दलको बैठकले ओलीलाई दलको नेताबाट हटाएको हो।

संसदको प्रतिनिधि सभा अन्तर्गत नेकपाका १७३ जना (सभामुख बाहेक) सांसद रहेकोमा आजको प्रचण्ड–नेपाल पक्षको भेलामा ९३ जना उपस्थित थिए।

त्यसका साथै राष्ट्रिय सभातर्फ नेकपाका मनोनितसहित ५० जना सांसद रहेकोमा २४ जना सांसद पनि सो बैठकमा उपस्थित थिए।

सो बैठकले माधवकुमार नेपालको प्रस्तावमा प्रचण्डलाई सर्वसम्मत्रुपमा संसदीय दलको नेता चुनेको हो।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम चालेका कारण उनलाई हटाउनुपरेको बताएको छ।

‘प्रधानमन्त्रीलाई असंवैधानिक निर्णय गर्ने अधिकार छैन, उहाँले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदम चाल्नुभएको हुँदा हटाएर प्रचण्डलाई नेता चयन गरिएको हो,’ नेकपा स्थायी समिति सदस्य देव गुरुङले बैठकपछि भने।

नेकपाको प्रचण्ड–नेपाल पक्षको मंगलबार बसेको केन्द्रीय समिति बैठकबाट पार्टीको अध्यक्ष पदबाट पनि ओलीलाई हटाई माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।

नेकपाको मौजुदा ४४७ मध्ये ३१५ जना केन्द्रीय समिति सदस्य उपस्थित रहेको सो बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको उनीहरुले जनाएका छन्।

ओलीलाई हिजो अध्यक्ष पदबाट हटाएका प्रचण्ड–नेपाल पक्षले आज बुधबार संसदीय दलबाट पनि हटाउने निर्णय गरेको हो।

प्रचण्ड–नेपाल पक्षले गरेका निर्णयलाई ओली पक्षले भने अस्वीकार गर्दै आएको छ।

यो पनि :

नेकपाका बहुमत केन्द्रीय सदस्यले अध्यक्षबाट हटाए ओलीलाई, माधव नेपाल नयाँ अध्यक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .