सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो।
नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले आज दिउँसो बैठक बस्ने भनेर यसअघि गरिएको निर्णयमा कुनै फेरबदल नभएको बताए। ‘आज दिउँसो १ बजे बालुवाटारमा बैठक बस्छ,’ नेता पोख्रेलले नेपालखबरसँग भने, ‘बैठक स्थगित हुँदैन।’
आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने अझै टुंगिसकेको छैन। स्रोतका अनुसार पार्टीको संसदीय दल, सचिवालय, स्थायी कमिटी लगायतका सबै निकायमा अल्पमतमा पर्दै गएका ओली सकेसम्म बैठकलाई असफल पार्ने पक्षमा छन्।
बैठकमा सामेल हुने या नहुने भन्ने विषयमा निर्णय लिन ओलीले आइतबार बिहानैदेखि आफू निकट नेताहरुसँगको छलफल गरिरहेका छन्। स्रोतका अनुसार ओलीले सुवास नेम्वाङ, ईश्वर पोखरेलसहितका नेताहरुसँग छलफल गरिरहेका छन्।
जति नै प्रयत्न गर्दा पनि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बैठकमा ओलीविरुद्ध पेस भएको राजनीतिक प्रस्ताव फिर्ता लिन तयार नभएपछि ओली हतास देखिएका छन्। प्रस्ताव फिर्ता लिएर राजनीतिक सहमति कायम गर्न उनले शनिबार दिनभरी दौडधुप गरे पनि त्यस्तो सहमतिको सम्भावना अझै देखिएको छैन।
शनिबारको छलफलमा पनि ओलीले प्रचण्डलाई आफूविरुद्धको प्रस्ताव फिर्ता नगरे स्थायी कमिटिमा सहभागी नहुने बताएका स्रोतले जनाएको छ।
प्रचण्ड र नेपाल पक्ष भने ओली सहभागी नभए पनि आजको बैठक रोक्ने पक्षमा छैनन्। प्रचण्ड नेपाल पक्ष आफ्नो अडानमा लचिलो नभएका कारण आजको बैठकमा विवाद समाधान हुने संभावना छैन।

प्रतिक्रिया