सत्तारूढ दल नेकपाको विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रदेश १ को भेला गर्न लागेको छ।
जनवर्गीय संगठनको कार्यालय पेरिसडाडामा हुन लागेको भेलालाई प्रचण्ड र नेपालले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य समेत सहभागी हुने स्रोतले जनाएको छ।
पार्टीभित्रको पछिल्लो विवादको विषयमा जानकारी दिन भेला राखिएको एक नेताले बताए।
उनले भने, ‘पार्टीभित्रको आन्तरिक विवादका बारेमा अनेक खालका आशंका उठेका छन्, फिल्डमा रहेका हामी अन्योलमा भएपछि अध्यक्ष लगायतका नेतासंग प्रष्ट हुन खोजिएको हो,’ सांसद समेत रहेका ती नेताले नेपालखबरसंग भने।
उनका अनुसार भेलामा प्रचण्ड र वरिष्ठ नेता नेपालनिकट नेताहरू सहभागी हुनेछन्।
यसअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एक नम्बर प्रदेशका आफूपक्षीय नेताहरूसंग भर्चुअल भेला राखेका थिए।
Shares

प्रतिक्रिया