अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल खैरोसूचीबाट कालोसूचीमा झर्ने उच्च जोखिममा रहेको बताएका छन्।
शनिबार राष्ट्रिय सभाको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि सांसदले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री वाग्लेले तत्काल आवश्यक सुधार गर्नु आवश्यक रहेको बताए। २०८१ फागुनदेखि नेपाल खैरोसूचीमा रहेको उल्लेख गर्दै उनले तदारुकताको साथ आवश्यक सुधार र सुशासनका कामलाई तिब्रता दिन नसके मुलुक कालोसूचीमा पुग्न सक्ने बताए।
‘मुलुक २०८१ फागुनदेखि खैरो सूचीमा छ। अहिले तदारुकताका साथ हामीले काम गनै सकेनौँ भने हामी कालो सूचीतिर झर्दै छौँ र कालो सूचीमा झर्नु भनेको बाँकी दुनियाँसग हाम्रो तमाम वित्तीय सम्बन्धहरू टुट्नु हो,’ उनले भने।
अर्थमन्त्री वाग्लेले कालोसूचीमा परेमा नेपाल पनि सोमालिया, हाईटी जस्तो मुलुकको दर्जामा पुग्ने बताए। उनले नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेकोले यो विधेयक ल्याइएको बताए।
‘रेमिट्यान्समा आश्रित देशमा विदेशी लगानी ल्याउनुपर्नेछ, हाम्रो साखलाई माथि उकास्नु छ, हामी गर्नुपर्ने सुशासनका नियमित कर्महरू नगरी सुशासनमा चुक्दाखेरी हामी हाईटी, सोमालियाजस्ता मुलुकहरूको दर्जामा झर्ने जोखिम प्रवल हुँदै गईरहेको छ,’ उनले भने, ‘२०८१ फागुनदेखिको यो कलंक हामी मेटाउन खोज्दै छौँ।’
कानुनको प्रभावकारी कार्यन्वयन गर्न नसक्दा मुलुक खैरोसूचीमा परेको उनको भनाइ थियो। उनले वर्तमान सरकार सुशासनसम्बन्धी कार्यमा निर्मम भएर लागेको जिकिर गरे।
Shares

प्रतिक्रिया