ad ad

राजनीति


ओलीले अध्यादेश फिर्ता लिन आनाकानी गरेपछि प्रचण्ड-नेपाल पक्ष सशंकित

ओलीले अध्यादेश फिर्ता लिन आनाकानी गरेपछि प्रचण्ड-नेपाल पक्ष सशंकित

सागर न्यौपाने
पुस २, २०७७ बिहिबार १६:१३,

 नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीले आनाकानी गरेको बताएका छन्। यससँगै प्रचण्ड-माधव नेपाल पक्ष ओलीप्रति सशंकित बनेको छ।

अध्यादेश फिर्ता नलिई ओलीले बिहीबार साँझका लागि परिषदको बैठक बोलाएका थिए। सो बैठक प्रचण्ड बालुवाटार पुगेका थिए। बैठक रोकिएपनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली नमानेको प्रचण्डले नेकपाका अन्य नेताहरुलाई बताएका छन्।

‘बैठक तत्काल रोक्न तयार त हुनुभयो, तर उहाँ अध्यादेश फिर्ता लिने विषयमा आनाकानी गरिरहनुभएको छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘उहाँले सहमति गर्ने र निर्णय नगर्ने पुरानै शैली फेरि दोहो¥याउन खोज्दै हुनुहुन्छ।’

प्रचण्डले यस विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीले मंसिर ३० गते संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर त्यही दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गराएका थिए।

तर, चौतर्फी आलोचनापछि पुस १ गते बसेको स्थायी समिति बैठकमा सो प्रस्ताव फिर्ता लिन ओली सहमत भएका थिए।

बिहीबार साँझको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश फिर्ता लिने अपेक्षा गरिएको थियो। तर, बैठकमा यस विषयमा छलफल समेत नभएको एक मन्त्रीले जानकारी दिए।

‘अध्यादेश फिर्ताबारेको आजको मन्त्रिपरिषद्मा विषय नै आएन, प्रधानमन्त्री ओलीले त्यसबारे एक शब्द उच्चारण गर्नुभएन,’ ती मन्त्रीले नेपालखबरसँग भने।

बिहीबार दिँउसो प्रचण्डसँगको भेटमा ओलीले अध्यादेश फिर्ता लिनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्ने बताएका थिए। बुधबार पनि प्रचण्डसहित छ नेताहरुबीच छलफल हुँदा ओलीले राष्ट्रपति भण्डारीले भेट्न चाहेको बताएका थिए।

‘संविधानसमेत ब्रिफकेसमा हालेर ढोकासम्म पुग्नु भएका प्रधानमन्त्री केही बेर रोकिएर त्यहीँबाट फर्किनु भयो,’ एक नेताले भने।

बुधबार स्थायी कमिटीको बैठक चल्ने वा नचल्ने विषयमा अन्यौल भइरहेको समयमा प्रधानमन्त्री ओलीले राष्टपति भेट्न खोजेका थिए। तर, पछि ओली र प्रचण्डबीच सरकारले अध्यादेश फिर्ता लिने र असन्तुष्ट पक्षले संसदको विशेष अधिवेशन बोलाउने तयारी रोक्ने सहमति भएको थियो।

तर, ओलीले बिहीबार पनि अध्यादेश फिर्ता नलिएपछि प्रचण्ड–नेपाल पक्षका नेताहरु थप सशंकित भएका छन्।

‘कमिटी बैठकमा फिर्ता लिने सहमति गर्ने अनि दुई दिन भइसक्दा पनि फिर्ता लिने कुनै निर्णय नगर्दा प्रधानमन्त्री थप अप्ठेरो स्थिति उत्पन्न गर्न खोज्दैहुनुहुन्छ कि भन्ने शंका उब्जिएको छ,’ स्थायी समितिका एक नेताले भने।

बिहीबार कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्य आगामी स्थायी समिति बैठकको विषयमा धारणा बनाउन छलफलमा जुटेका थिए।

सो छलफलमा कमिटीमा पेस गरिएका सबै दस्तावेजमाथि छलफल गर्नुपर्ने कुरा उठेको सचिवालयका एक नेताले बताए।

‘सचिवालय बैठकले समाधान गर्न नसकेपछि स्थायी समिति बैठकमा पेस भएका दुई अध्यक्षको राजनीतिक प्रस्ताव र त्यसको जवाफ, सो अवधिमा आदानप्रदान भएका पत्रहरुबारे आगामी पुस ५ गतेको बैठकमा छलफल गर्न साथीहरुले सुझाव दिनुभयो,’ ती नेताले भने।

प्रधानमन्त्री ओलीले मंसिर ३० गते हठात् अध्यादेश ल्याएपछि पुस १ गतेको बैठक अध्यादेश फिर्ता गराउन मै केन्द्रित भएकोले आगामी बैठकमा भने विषय केन्द्रित छलफल अघि बढाइने उनीहरु बताउँछन्।

स्थायी समिति बैठक सुरु हुन अझै केही दिन बाँकी रहेकाले यसबारेमा गृहकार्य गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘दुई दिन हामी गृहकार्य गर्छौँ तर, आगामी बैठकमा भने कमिटीमा पेस भएका प्रतिवेदनमाथि नै छलफल हुन्छ’, उनले भने।

सचिवालयका अर्का नेताका अनुसार आगामी दिनको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री उपस्थित भएपनि नभएपनि छलफल रोकिने छैन।

बिहीबार दिउँसो दुई चरणमा गरेर कार्यकारी अध्यक्षसहित पाँच नेताहरुको बैठक बसेको थियो।

सुरुमा बालुवाटार जानुअघि र बालुवाटारबाट फर्केपछि प्रचण्डले प्रधानमन्त्रीसँगको छलफलबारे पाँचै नेतालाई ब्रिफिङ गरेका थिए।

याे पनि:

अध्यादेश फिर्ता गर्ने सहमति भएलगत्तै ओलीले डाके संवैधानिक परिषद्, नेताहरुबीच बढ्यो यस्तो संशय

प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजे संवैधानिक परिषद् र ६ बजे मन्त्रिपरिषद्को बैठक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .