जुन १५ मा भएको उक्त झडपमा भारतका २० सेनाले ज्यान गुमाएका थिए। भारतले चीनको दोब्बर सेना मारिएको बताएपनि यस विषय चीनले अस्वीकार गर्दै आएको छ।
हालसम्म पनि भारत र चीन सरकार यस विषयमा आरोप र प्रत्यारोपमा होमिएका छन्। विपक्षी सेना आफ्नो भूमिमा घुसेका कारण झडप भएको दुवै देशको भनाइ छ।
दुवै देशबीच ८ पटकसम्म सैन्यस्तरमा सीमा विवाद समाधान गर्ने विषयमा छलफलमा जुटेपनि सहमति हुन सकेको छैन।
यसबीचमा भारतमा रक्षामन्त्री राजनाथ सिंहले फेरि एकपटक गलवान उपत्यकामा भएको झडपमा चिनियाँ पक्षलाई दोषी ठम्याएका छन्।
सोमबार सिंहले चिनियाँ सेना भारतीय सीमामा घुसेका कारण गलवान उपत्यकामा झडप भएको बताए। सो क्रममा भारतीय सेनाले चिनियाँ सेनालाई लखेटेको उनको भनाइ छ।
उनी भन्छन्,‘भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनासँग बहादुरीपूर्ण तवरबाट लडे र उनीहरुलाई भारतीय भूमिबाट हटाए।’
यसैबीच सोमबार नै भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतले भारतीय सेना चिनियाँ खतराविरुद्ध लड्न जमीन, हावा र समुद्रमा तयार भएर बसेको बताएको एएनआईले जनाएको छ।
यसैबीच चीनसँग सीमा क्षेत्र पूर्वी लद्दाखमा विवाद भइरहेका बेला भारतले सैनिक तयारीमा ठूलो कदम चालेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले आफ्ना सेनालाई १५ दिन युद्धका लागि गोला–बारुद र हतियार संकलनको अनुमति दिएको हो।
यसअघि भारतीय सेनाले १० दिनका लागि मात्र युद्ध सामग्री जम्मा गर्ने गरेका थिए।
पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा एलएसीमा चीनसँग झगडा परिरहेका बेला भारतले गरेको यो निर्णय महत्वपूर्ण मानिएको छ।
भारतले विदेशबाट पनि ५० हजार करोड रुपैयाँको हतियार खरिद गर्ने योजना बनाएको छ।
पाकिस्तान र चीन दुवैविरुद्ध लड्न सक्ने गरी भारतीय सेनालाई तयार पारिएको बताइएको छ।
Shares

प्रतिक्रिया