राजनीति


ओलीका कारण जनताले ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाए : देउवा

ओलीका कारण जनताले ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाए : देउवा

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १०:२३,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको सरकारबाट आजित भएर ‘राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउन थालेको बताएका छन्।

कोरोना महामारीका बेला समेत सरकार भ्रष्टाचारमा लिप्त भएका कारण जनता निराश भएको देउवाको भनाइ छ।

उनले कम्युनिष्ट सरकारकै कारण मान्छेले ‘राजा आऊ देश बचाऊ’ भन्न थालेको बताए।

राजतन्त्र पनि राजा नै प्रजातन्त्रविरोधी भएका कारण फाल्नु परेको र अब चाहिँ गणतन्त्रबाट पछाडि कुनै हालतमा नफर्किने उनले बताए।

‘गणतन्त्र हामीले होइन राजाले ल्याएको हो, हामीले त भागेर गएको राजालाई पनि फिर्ता ल्याएको हो, प्रजातन्त्रको विरोधमा गएका कारण फाल्नुपरेको हो, तर अबचाहिँ फर्किने कुरा छैन,’ उनले भने।
तर ओलीका कारण जनताले राजालाई गुहार्न थालेको उनले बताए।

Deuba massrally

उनले नेपाली कांग्रेसले सोमबार देशभर गरेको प्रदर्शनका क्रममा हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दैै सो धारणा व्यक्त गरेका हुन्।

‘तर यी तत्वलाई राजा आऊ भन्ने हिम्मत आउँदैनथ्यो, ओली सरकारबाट आजित भएर त्यसो भनेका हुन सक्छन्,’ देउवाले भने, ‘अब कसैलाई शंका नहोस् अब गणतन्त्रलाई नै बलियो राम्रो बनाउने हो, यसलाई जनता र देशको पक्षमा बनाउने हो।’

सरकारको गलत गतिविधिका कारण जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको र आफूहरु अब कम्युनिष्टबाट जनतालाई मुक्त गर्न सडकमा आएको उनको भनाइ थियो।

‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउनेहरुलाई पनि केही कुरा भन्नुपरेको भन्दै उनले राजा पनि प्रजातन्त्रविरुद्ध गएकै कारण उनलाई फाल्नुपरेको देउवाले बताए।

तर राजाले आफूलाई जेल हाल्दा बरु अदालतले आफूलाई छुटाएको तर अहिलेचाहिँ अदालत पनि कम्युनिष्टहरुले पार्टीकरण गरेको उनको आरोप थियो।

हामीहरु बाध्य भएर सडकमा आएका हौं। कम्युनिष्टहरु एक भएपछि आफूले बोल्न, हाँस्न र रुन पनि पाइँदैन भनेको अहिले ओली सरकारले ठीक त्यही गरेको बताए।

अहिले सरकारको विरोधमा लेख्न र विरोध केही गर्न नपाइने अवस्था बन्दै गएको देउवाको भनाइ छ।

‘अहिले त कसैले खान पाइन भनेर रुँदा पनि पक्राउ गर्न थालिएको छ,’ उनले भने।

ओलीले देशमा सर्वसत्तावादी शासन लाद्न खोजेको देउवाको आरोप छ।

उनले कांग्रेसले सरकारलाई कोरोना महामारी नियन्त्रणका लागि निःशर्त सहयोग गरेको तर सरकारले भने यस्तो महामारीमा पनि घुस खाने, भ्रष्टाचार गर्ने काम गरेका बताए।

‘हामीले कोरोना नियन्त्रणका लागि आफ्नो आधा तलब, दसैं भत्ता दिन्छौं भन्यौं, तर कम्युनिष्टहरुले यहि बेलामा घुस खाने, भ्रष्टाचार गर्ने काम गरे,’ उनले भने।

ओलीको सरकार बनेपछि बलात्कारका घटना बढेको उनको दाबी छ।

कञ्चनपुरकी बालिका निर्मलाको बलात्कार र हत्या गर्नेलाई अहिलेसम्म पक्राउ नगरेको हुँदा त्यस्ता घटना झनै बढेको उनले बताए।

‘ओली सरकारले अहिलेसम्म हत्यारालाई पक्राउ गरेको छैन, गर्नै चाहँदैन,’ देउवाले भने, ‘स्पष्ट छ कि पार्टीकै मान्छे भएर नपक्रेको हो, पार्टीको संलग्नता नभएको भए किन पक्राउ गरेको छैन त?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad