राजनीति


कार्यदल बनाएर स्थायी कमिटीबाट निर्णय, केन्द्रीय कमिटीबाट अनुमोदन

कार्यदल बनाएर स्थायी कमिटीबाट निर्णय, केन्द्रीय कमिटीबाट अनुमोदन

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १५:०,

‘सकेसम्म सहमतिको सूत्र’ खोज्ने प्रयास अन्तर्गत स्थायी कमिटीको बैठक स्थगित भएको एक साता हुनलाग्दा पनि सत्तारुढ नेकपाका दुई पक्ष नजिकिन सकेका छैनन्।

यसबीचमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा भेटवार्ता भयो। तर प्रधानमन्त्री ओलीले पुरानै अडान दोहोर्याएपछि निकास निस्कने गरी छलफल अगाडि बढ्न सकेन।

मंसिर २० गते सुरु भएको स्थायी कमिटीको बैठक एक साताका लागि स्थगित भएको थियो, जसमा ओली उपस्थित भएका थिएनन्। अर्को बैठक २८ गते आइतबारका लागि तय गरिएको छ।

बुधबार प्रचण्डसँग भएको भेट र त्यसपछि पनि प्रधानमन्त्री ओलीले सहमतिका लागि लचिलो हुने र आइतबारको बैठकमा सहभागी हुने कुनै संकेत नदिएको नेताहरूले बताएका छन्।

‘दुई दिनअघि दुई अध्यक्षबीच भेट हुँदा प्रधानमन्त्रीले जे अडान राख्नु भएको थियो अहिले पनि त्यसमा कायम नै हुनुहुन्छ’, शुक्रबार प्रधानमन्त्रीसँग भेटवार्ता गरेका एक नेता भन्छन्, ‘आजसम्म प्रधानमन्त्री आफ्नो अडानबाट यताउता भएको संकेत मैले चाहिँ पाइनँ।’

प्रचण्डसँगको भेटमा बुधबार ओलीले ‘स्थायी कमिटीमा तपाईंहरूले बहुमत पुर्याउन सक्नुहुन्न, माधव नेपालले पनि पछि धोका दिनुहुन्छ’ भन्दै भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयअनुसार आफुसँग मिलेर जान आग्रह गरेका थिए।

तर प्रचण्डले अब ओलीसँग खुसामद गरेर पार्टी नचल्ने भन्दै आइतबार बस्ने स्थायी कमिटी निर्णायक रुपमा अगाडि बढ्ने संकेत गरेका छन्।

शुक्रबारसम्म पनि ओलीको मुड परिवर्तन नभएको पाएपछि प्रचण्ड–माधव नेपाल समूहले आइतबारको बैठकबाट कसरी अगाडि बढ्ने भनेर शनिबारसम्म आफ्नो रणनीति तय गर्ने तयारी छ।

‘सबै कुरा विधि प्रक्रिया अनुसार नै अगाडि बढ्छ, संभवतः स्थायी कमिटीको अबको बैठकले एउटा कार्यदल बनाउने छ, जसलाई बैठकले गर्ने निर्णयको खाका तयार गर्ने जिम्मेवारी दिइने छ’, पार्टी एकता जोगाउन पहल गरिरहेका स्थायी कमिटीका एक प्रभावशाली सदस्य भन्छन्, ‘बैठकले प्रधानमन्त्री ओलीका लागि अप्रिय लाग्ने निर्णय गर्दा पनि त्यो प्रक्रिया अपनाउँछ।’

आफुलाई अप्रिय लाग्ने निर्णय स्थायी कमिटीले गरेको खण्डमा प्रधानमन्त्री ओलीले जस्तो कदम पनि चाल्न सक्ने अवस्था रहेकाले बैठकले सकेसम्म पार्टी एकता धरापमा नपर्ने गरी निर्णय लिनुपर्ने उनले बताए।

‘सबै छलफल बहस स्थायी कमिटीमा नै हुन्छ र एउटा निष्कर्षमा पुगेपछि निर्णय हुन्छ, त्यो निर्णयले सकेसम्म एकता धरापमा नपरोस् भनेर विचार पुर्याउनु पर्ने अवस्था छ’, स्थायी कमिटीका ती नेता भन्छन्, ‘केन्द्रीय कमिटीको बैठक त स्थायी कमिटीको निर्णय अनुमोदन गर्न आयोजना गर्ने हो।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .