राजनीति


‘नेकपामा अब उधारो चल्दैन, सहमति हाताहाती मात्रै हुन्छ’

‘नेकपामा अब उधारो चल्दैन, सहमति हाताहाती मात्रै हुन्छ’

मणि दाहाल
मंसिर २६, २०७७ शुक्रबार १४:५२,

नेकपाभित्र विवाद चर्किंदै जाँदा दुई पक्षबीचको अविश्वास बढ्दै गएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालनिकट नेताहरुले अब उधारो सहमति नहुने बताउन थालेका छन्।

वैशाखबाट देखिएको नेकपाभित्रको विवाद असारको दोस्रो साता स्थायी समिति बैठक सुरु भएपछि उत्कर्षमा पुगेको थियो। भदौ २६ मा दुवै अध्यक्षले स्थायी समितिमै विवाद समाधानको प्रस्ताव गरेका थिए।

स्थायी कमिटीको बैठकले त्यसलाई अनुमोदन गरेको थियो। तर, ओलीले सहमति पालना नगरेको आरोप प्रचण्ड–नेपाल पक्षले लगाउँदै आएको छ।

‘व्यक्तिगत रुपमा भएका सहमतिको कुरै छाडौँ। संस्थागत रुपमा भएको निर्णय पनि कार्यान्वयन भएको छैन,’ नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसालले भने, ‘त्यसैले अविश्वास निकै बढी छ।’

उनले अब जेजस्ता सहमति हुन्छन् ती सबै हाताहाती हुने बताए।

‘अब जेजस्ता निर्णय हुन्छन्, ती तुरुन्तै कार्यान्वयन हुन्छन्,’ नेपालनिकट नेता भुसालले भने, ‘पहिलेजस्तो उधारो सहमति हुँदैन।’

प्रधामन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच २०७६ मंसिरमा सरकार र पार्टी जिम्मेवारी बाँडफाँटसम्बन्धी लिखित सहमति भएको थियो। एमाले र माओवादीको एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ मा दुई स्थायी कमिटीका सदस्यलाई साझी राखेर भएको सरकारको नेतृत्व दुवै नेताहरुले आधाआधा गर्ने सहमति गरेका थिए। त्यसयता भएका अन्य कयौँ सहमति पालना नभएको पूर्वमाओवादी पक्षको गुनासो छ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा प्रचण्डले सहमति तोडेर ओलीले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन्।

‘अध्यादेश ल्याइनुपूर्व पशुपति क्षेत्रमा रहेको एउटा होटलमा गुटको भेला गरी पार्टीमा एकलौटी रुपमा कब्जा जमाउने र त्यसो गर्न नसकिए छुट्टै पार्टी खोल्नेसम्मको आपत्तिजनक रणनीतिका साथ आफ्ना निकटस्थहरुलाई अरु नेताले पार्टी विभाजन गर्न लागेकाले अध्यादेशको आवश्यकता पर्नगएको झुटा कुरा प्रेषित गरियो,’ प्रचण्डको प्रस्तावमा भनिएको छ।

तर, स्थायी समिति सदस्य छविलाल विश्वकर्माले राजनीतिमा नगद र उधारो भन्ने नहुने बताए।

‘हामी सबै एकै डुंगामा छौँ। एकले अर्कोसँग सहमति नगर्ने हो भने एक जना मात्रै डुब्दैनौँ’ विश्वकर्माले भने, ‘व्यापारमा जस्तो राजनीतिमा नगद वा उधारो भन्ने हुँदैन। अहिले विश्वासको संकट देखिएको हो। त्यसको सुरुवात कसरी भयो, खोजिनुपर्छ।’

संस्थागत रुपमा भएका सहमति कार्यान्वयन गर्दिनँ भन्नसक्ने स्थितिमा ओली नरहेको उनले बताए।

‘व्यक्तिगत रुपमा भएको सहमतिका विषयमा उहाँहरुले जान्ने कुरा हो। तर संस्थागत रुपमा भएको सहमति कार्यान्वयन नगर्ने भन्ने सक्ने अवस्थामा केही पनि हुनुहुन्न,’ विश्वकर्माले भने ‘भदौ २६ गतेको निर्णयबारे फरक बुझाइका कारण समस्या देखिएको छ।’

अहिले अध्यक्ष ओलीविरुद्ध गुट मात्रै होइन गठबन्धन नै निर्माण भएकाले समस्या बढेको उनले बताए।

तर, ओलीले सहमति उल्लंघन गरेको आरोप प्रचण्ड–नेपाल समूहले मात्र लगाएको होइन। लामो समय अध्यक्ष ओलीकै साथमा रहेका उपाध्यक्ष वामदेव गौतम पनि पछिल्लो समय प्रधानमन्त्री ओलीसँग चिढिएका छन्।

प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेता हुँदै तत्कालीन नेकपा एमालेको अध्यक्ष बनाउन समेत महत्वपूर्ण भूमिका खेलेका गौतमले पनि सार्वजनिक रुपमै आफूले प्रधामन्त्री ओलीबाट धोका पाएको बताउने गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .