ad ad

राजनीति


विवेकशीलसँग एकता गर्ने भएपछि सदस्यहरुसँग रवीन्द्र मिश्रले गरे यस्तो अपील (पूर्णपाठ)

विवेकशीलसँग एकता गर्ने भएपछि सदस्यहरुसँग रवीन्द्र मिश्रले गरे यस्तो अपील (पूर्णपाठ)

नेपालखबर
मंसिर २२, २०७७ सोमबार १३:३७,

साझा पार्टी र विवेकशील नेपाली दलसँग पुनः एकीकरण हुने भएको छ।

सोमबार बसेको बैठकबाट सो निर्णय भएसँगै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टीका सदस्यहरुसँग पार्टी एकीकरणको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै अपिल जारी गरेका छन्।

यो पनि : साझा र विवेकशीलबीच बुधबार एकता घोषणा हुँदै

मिश्रको अपीलको पूर्णपाठ

आदरणीय सदस्य साथीहरू,

लामो प्रयास र संवादपछि आज मिति २०७७ मंसिर २२ गते सोमबार बसेको साझा पार्टीको केन्द्रीय समिति बैठकले झण्डै दुई वर्षअघि हामीसँग छुट्टिएको विवेकशील नेपाली दलसँग पुनः एकीकरण गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले, कोभिड–१९ ले सृजना गरेको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै बुधबार मंसिर २४ गते दिनको ठीक साढे तीन बजे पार्टी एकीकरणको ‘अनलाइन’ घोषणा गर्ने निर्णय गर्दै एकीकरण घोषणापत्रलाई पारित गरेको छ। सो घोषणा कार्यक्रम सबै साथीहरूलाई हेर्न र आआफ्नो सामाजिक सञ्जालमा शेयर गर्न पनि आग्रह गर्दछु।

पार्टी एकीकरण पश्चात पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ र एकीकृत पार्टीको मूल नेतृत्वमा अध्यक्ष र संयोजक रहने व्यवस्था गरिएको छ। वार्ता समितिले एकीकरणका लागि तयार पारेको संयुक्त प्रस्तावमा संयोजक/संयोजकको व्यवस्था गरिएकोमा सो विषयलाई लिएर आम सर्वसाधारणबाट व्यापक रूपमा आलोचना भएको सर्वविदित नै छ।

त्यसलाई आम शुभेच्छुकहरूले पनि संशोधन गर्न सुझाव दिएको तथा पार्टी एकीकरणको समाचारले सृजना गरेको सकारात्मकता र उत्साहलाई दुई संयोजकको प्रस्तावले ओझेलमा पारिदिएको थियो।

सो परिस्थितिलाई मध्यनजर गर्दै एकीकरणको संयुक्त प्रस्तावको मूल मर्ममा असर नपर्ने र एकीकरणको लक्ष्यमा वाधा पनि नपुग्ने निष्कर्षका साथ साझा पार्टीले संयुक्त प्रतिवेदनमा वरियतामा पहिलो नम्बरमा राखिएकोलाई ‘अध्यक्ष’ र वरियतामा दोस्रो नम्बरमा राखिएकोलाई ‘संयोजक’ भन्ने गरी एकीकरणलाई अगाडि बढाउने निर्णय गरेको थियो।

सो निर्णयबारे अझै पनि कतिपय साझालीहरूले चिन्ता व्यक्त गरेका छन्। तर हामीले बृहत् राजनीतिक लक्ष्यलाई केन्द्रमा राखेर सोच्यौँ। त्यसरी सोच्दा, एकीकरण/ध्रुवीकरणका यस्ता प्रयासहरूमा धेरै लचक हुनु पर्ने र सम्झौताहरू गर्नु पर्ने अवस्था सृजना हुन्छ, अन्यथा, लक्ष्यमा पुग्न सकिँदैन। हामीले जे निर्णय लियौँ र त्यसबारे नेतृत्वमा जति घनिभूत छलफल र्गयौँ, त्यसले हाम्रो बृहत्तर उद्देश्यमा सघाउ र्पुयाउँछ भन्ने हाम्रो निष्कर्ष हो।

‘अस्तित्व’मा रहने मात्र होइन,
‘नेतृत्व’मा पुगेर देश रूपान्तरण गर्ने पार्टी निर्माण गर्न सहज छैन भन्ने हामी सबैले महसुस गरेकै छौँ। गत ३÷४ वर्षको यो चुनौतीपूर्ण यात्रामा हामी सबै अविचलित, दृढ र लगनशील भएर नलागेको भए आज हामी वैकल्पिक राजनीतिको केन्द्रमा हुने थिएनौँ।

यो यात्रालाई सार्थक बनाउन हामीले गत एक वर्षअघि लुम्बिनीमा भएको राष्ट्रिय भेलामा लिएको ‘एकीकरण/ध्रुवीकरण’ को लक्ष्य अनुरूप हामीले विवेकशील नेपाली दलसँग एकीकरण गर्न लागेका हौँ।

आउँदा दिनहरूमा एकीकृत पार्टीलाई नेपाली राजनीतिको गुरूत्व शक्ति बनाउन एकीकरण/ध्रुवीकरणको प्रयासलाई हामी जारी राख्नेछौँ। यो कठिन र चुनौतीपूर्ण यात्रामा हामी एक ढिक्का भएर अघि बढ्नेछौँ र हाम्रै जीवनकालमा यो देश रूपान्तरण गरेरै छाड्नेछौँ भन्नेमा म विश्वस्त छु।

एकीकृत पार्टीलाई एक–आपसमा घुलित गर्न, बलियो बनाउन र पार्टीहरूमा एकीकरणपश्चात् देखिने जटिलताहरूलाई सल्टाउन तपाईँहरू सबैको सत्प्रयास रहनेमा पनि म विश्वस्त छु। आउँदा दिनहरूमा हामी मूलतः संगठन निर्माणमा केन्द्रित भएर भावी निर्वाचनहरूका लागि तयारी सुरू गर्नेछौँ।

हामीले एक अर्कालाई प्रदान गर्ने प्रोत्साहन, साथ, सहयोग कायम रहोस्। तपाईँको जय होस्, नेपालको जय होस्

सश्रद्धा
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मितिः २२ मंसिर २०७७

यो पनि:
साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .