सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको छ।
शनिबार दउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक सुरु हुनुभन्दा अगाडि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै साढे १ घण्टा एक्लाएक्लै छलफल भएको बालुवाटार स्रोतले बतायो।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि एक्लाएक्लै भेटवार्ता नगर्ने बताएका कार्यकारी अध्यक्ष सहमतिका लागि भन्दै अध्यक्ष ओलीसँग वार्तामा बसेका हुन्। दुई अध्यक्षबीच कार्तिक २५ पछि भेटवार्ता हुन सकेको थिएन्।
प्रचण्ड र ओलीबीच शुक्रबार बेलुका टेलीफोनमा पनि कुराकानी भएको थियो। त्यसपछि शनिबार बिहान ११ः३० देखि १ बजेसम्म संवाद भएको बालुवाटार स्रोतले जनायो। ‘सहमतिको वातावरण बनेको छ, अब बैठकमा त्यसबारे छलफल हुन्छ’, स्रोतले नेपालखबरसँग भन्यो।
ओली–प्रचण्ड एक्लाएक्लै छलफल हुँदा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि बालुवाटार पुगेका थिए।
प्रतिक्रिया