राजनीति


राष्ट्रपति र प्रधानमन्त्रीसहित शीतलनिवासमा हुने भनिएको त्रिपक्षीय बैठकमा यसकारण गएनन् प्रचण्ड

राष्ट्रपति र प्रधानमन्त्रीसहित शीतलनिवासमा हुने भनिएको त्रिपक्षीय बैठकमा यसकारण गएनन् प्रचण्ड

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १७:४४,

सत्तारूढ दल नेकपाभित्र पार्टी विभाजन समेत हुनसक्ने गरी चर्किएको विवाद समाधान गर्ने सक्रियता देखाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त रुपमा भेट्ने तयारी गरेकी थिइन्।

तर कार्यकारी अध्यक्ष प्रचण्ड शीतलनिवास नगएपछि सो भेट हुन नसकेको नेताहरुको भनाइ छ।

प्रचण्डले आफूलाई भेट्न आएका उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेलसँग खुमलटारमा छलफल गरेर राष्ट्रपतिलाई सन्देश पठाए। तर आफै चाहिँ राष्ट्रपति कार्यालय शीतलनिवास नपुगेको स्रोतले जनाएको छ।

‘प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई संगै राखेर सहमति गराउने रास्ट्रपतिको योजना भएको जस्तो देखिन्छ,’ प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने, ‘प्रचण्ड आज दिनभर भेटघाट र छलफलमै व्यस्त हुनुभयो।’

प्रचण्डले शीतलनिवास जाने वा नजानेबारे वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए।

बिहीबार नै राष्ट्रपतिलाई भेटेर सबै समस्याको जड प्रधानमन्त्री ओली नै रहेको र उनले सहमति तथा बैठकका निर्णय समेत कार्यान्वयन नगर्दा पार्टी गम्भीर विवादमा फसेको जिकिर गरेका थिए।

‘यो पटक ओलीजी नै सच्चिनु पर्ने’ अडान राष्ट्रपतिसँग राखेर आएका प्रचण्ड शुक्रवार पनि फेरि शितल निवास जान चाहेनन्।

‘भोलिको लागि सचिवालय बैठक तय गरिएको छ, त्यसमा प्रधानमन्त्री ओलीजी आउनुपर्‍यो त्यहाँ प्रतिवेदनमाथि छलफल गर्नुपर्‍यो, आफ्नो कुरा राख्नुपर्‍यो, अनि मात्र सहमतिको लागि शीतलनिवास गएर छलफल गर्न राम्रो हुन्छ भन्ने प्रचण्ड– नेपालबीच सहमति भएपछि प्रचण्ड शीतलनिवास नगएको स्रोतले बतायो।

प्रचण्डसँग सहमति गरेरै विवाद समाधान गर्ने बालुवाटार र शीतलनिवासको योजना रहेको छ।

तर कार्यकारी अध्यक्ष प्रचण्ड एक्लै सहमति गर्ने पक्षमा छैनन्।

उनले शुक्रवार बिहान समझदारीका लागि प्रस्ताव लिएर आफूलाई भेट्न पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पनि दुई अध्यक्षबीच मात्र सहमति गरेर यो पटक नहुने जवाफ दिएका थिए।

पोखरेलले त्यही सन्देश शीतलनिवास पुर्‍याएका थिए।

शनिबार १ बजे बैठक बस्नुअघि प्रचण्डलाई सहमतिमा ल्याउन बालुवाटार र शीतलनिवासले अन्तिम प्रयास गर्दैछ।

भोलिको लागि तय भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने वा नहुने अझै प्रष्ट भैसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .