राजनीति


शनिबारको सचिवालय बैठकअघि ओली र प्रचण्ड पक्षका यस्ता छन् आआफ्नै तयारी र रणनीति

शनिबारको सचिवालय बैठकअघि ओली र प्रचण्ड पक्षका यस्ता छन् आआफ्नै तयारी र रणनीति

मणि दाहाल
मंसिर १९, २०७७ शुक्रबार १८:१३,

सत्तारुढ नेकपाको शनिबार बस्ने सचिवालय बैठकलाई बहुमत सदस्यहरुले निर्णायक बनाउन जोड गरेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शुक्रबार दिनभर निकै दौडधुप गरे।

सचिवालयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले भोलि शनिबारको बैठकबाट कुनै निर्णय गर्ने वा सचिवालयमा भएका प्रस्तावलाई आइतबारका लागि तय भएको स्थायी कमिटी बैठकमा पठाउने तयारी गरेपछि त्यो कदम रोक्नका लागि ओलीपक्षीय नेताहरु दिनभर दौडधुप गरेका हुन्।

सचिवालयमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका बहुमत सदस्यले लिनसक्ने निर्णय रोक्न ओली पक्षलाई सहज छैन। त्यसैले उनीहरुले बैठकअघि नै कुनै समझदारी बनाउने प्रयास गरेका हुन्।

अघिल्लो सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित भएपछि अर्को बैठक शनिबारका लागि तोकेर सो बैठकमा अनिवार्य उपस्थितिका लागि उनलाई आग्रह गरेको थियो।

शनिबार एक बजे बस्ने सचिवालय बैठकमा अध्यक्ष ओली उपस्थित हुने वा नहुने कुरा शुक्रबार बेलुकीसम्म पनि निश्चित नभएको नेताहरु बताउँछन्। तर उनलाई लगातार दोस्रो बैठकमा अनुपस्थित हुने आधार पेस गर्न अप्ठ्यारो छ।

यता कार्यकारी अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालसहितका बहुमत सदस्यहरु ओली उपस्थित नभए पनि शनिबारको बैठक बस्ने र पहिलेदेखि छलफलमा रहेका प्रस्तावहरुलाई अघि बढाउने तयारीमा रहेको देखिन्छ।

‘भोलि पनि प्रधानमन्त्रीले सहमतिका लागि थप समय माग्नु भयो भने के गर्ने भन्ने प्रश्न त छ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘तर प्रधानमन्त्री नआए पनि बैठक बस्ने र प्रधानमन्त्रीले थप समय मागेमा स्थायी कमिटीका दुई वटा बैठकबीच बढि समय राखेर त्यही बीचमा सचिवालयको बैठक राख्ने र सँगसँगै सहमतिका लागि पहल गर्ने संभावना बढी छ।’

तर बैठकलाई अब पनि अनिर्णयकाे बन्दी बनाउन नहुनेमा नेताहरु पुगेकाे उनकाे भनाइ छ।

शीर्ष नेताहरुसँगको तयारीमा संलग्न ती नेताका अनुसार औपचारिक र अनौपचारिक छलफललाई समय दिने र दुवै अध्यक्षले प्रश्नोत्तरको रुपमा लेखेका पत्रहरु र दुवैका राजनीतिक प्रस्तावहरु आइतबार हुने स्थायी कमिटी बैठकमा लगिने तयारी छ।

‘स्थायी कमिटीको बैठक एक पटक सरेर आइतबार पुगेको हो। फेरि सार्ने हो भने केन्द्रीय कमिटीको बैठक समेत धकेलिने छ,’ प्रचण्ड–नेपालपक्षीय ती नेताले भने।

गत मंसिर ३ गते भएको सचिवालय बैठकले कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफमा अर्को दस्तावेज ल्याउनका लागि अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई १० दिनको समय दिएको थियो। त्यहि बैठकले मंसिर १८ मा स्थायी कमिटी र मंसिर २५ मा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।

सोहीअनुसार ओलीले मंसिर १३ गते आफ्नो प्रस्ताव पेस पनि गरेका हुन्।

तर गत मंगलबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि सचिवालय बैठक मंसिर २० गते (शनिबार) र स्थायी कमिटीको बैठक मंसिर २१ गते (आइतबार) गर्ने निर्णय गरिएको थियो।

प्रधानमन्त्री ओलीले प्रचण्डको दस्तावेज कुनै राजनीतिक प्रस्ताव नभई आफूविरुद्ध लगाइएको अनर्गल आरोपमात्र भएको भन्दै खारेज हुनुपर्ने माग गरेका थिए। सो बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप भएको थियो। मंगलबारको बैठकमा ओलीले व्यस्त रहेको र बैठकमा सहभागी हुनुको कुनै औचित्य समेत नभएको भन्दै अनुपस्थित रहेका थिए।

बिहीबार र शुक्रबार प्रचण्डसँग ओलीनिकट नेताहरु महासचिव विष्णु पौडेल, संसदीय दलका नेता सुवास नेम्वाङ तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव बनाउने विषयमा समझदारी बनाउन प्रयास गरेका थिए।

शुक्रबार पनि उपप्रधानमन्त्री पोखरेलले बिहान प्रधानमन्त्री ओलीसँग बालुवाटारमा, कार्यकारी अध्यक्ष प्रचण्डसँग खुमलटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा छलफल गरेको स्रोतहरुले जनाएको छ।

प्रचण्डसँगको भेटमा पोखरेलले दुवै प्रस्ताव फिर्ता लिएर संयुक्त प्रस्ताव लैजाने आग्रह गरेको स्रोतहरुको भनाइ छ।

तर प्रचण्डले प्रस्ताव फिर्ता हुननसक्ने जवाफ दिएका थिए। प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा सचिवालयका बहुमत सदस्यले समेत समर्थन रहेको जनाएका छन्।

यसैबीच ओलीनिकट एक स्थायी कमिटी सदस्यले शनिबारको सचिवालय बैठकअघि नै सबैलाई समेट्ने गरी दुवै अध्यक्षबीच सहमति गराउने प्रयास भैरहेको बताएका छन्।

उनले कस्तो सहमति भनेर नखुलाएपनि सबै पक्षलाई समेट्ने गरी नयाँ सहमति गराउने प्रयास भैरहेको बताए।

‘यसपटक अलि वृहत् सहमति गर्ने पहल भएको छ र त्यो पहिलेको भन्दा परिपक्व पनि हुनेछ,’ ओलीनिकट ती नेताले विश्वास व्यक्त गरे।

प्रचण्ड–नेपाल निकट रहेका नेताहरुले भने दुवै प्रस्तावहरु स्थायी कमिटीमा छलफलका लागि लैजाने बताएका छन्।

‘सचिवालय बैठकमा प्रस्ताव भएको विषय स्थायी कमिटीमा जान्छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘दुवै अध्यक्षका पत्रहरु र प्रस्ताव स्थायी कमिटीमा आउने निश्चित छ।’

ओलीनिकट केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र गौतमले अहिले पनि फरक फरक प्रस्ताव फिर्ता गरी संयुक्त प्रस्ताव बनाएर सहमति कायम गर्दै पार्टी एकता जोगाउने प्रयास जारी रहेको बताए।

‘दुईवटा प्रतिवेदन तल्लो कमिटीमा जाँदा अहिलेको बिबाद झनै विस्तार भएर जान्छ र पार्टी संकटमा पर्छ,’ गौतमले भने, ‘पार्टी एकता बचाइराख्ने हो भने संयुक्त प्रस्ताव तयार पारेर सहमति गर्ने र महाधिवेशनमा जानुको विकल्प छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .