राजनीति


अध्यादेश, संसद विघटन र संकटकालको त्रास देखाएर कोही डराउनेवाला छैन : माधव नेपाल

अध्यादेश, संसद विघटन र संकटकालको त्रास देखाएर कोही डराउनेवाला छैन : माधव नेपाल

नेपालखबर
मंसिर १७, २०७७ बुधबार १३:४७,

नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको त्रासबाट कोही पनि नडराउने बताएका छन्।

‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन,’ नेता नेपालले भने।

फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा बोल्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई उनीप्रति कटाक्ष गर्दै सो धारणा व्यक्त गरेका हुन्।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच तिक्तता चुलिएका बेला नेपालले सो प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै धम्की नदिन चेतावनी दिएका हुन्।

नेकपाका पार्टी कमिटीहरुमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले चाल्नसक्ने विभिन्न विकल्प र संभावनामध्ये अध्यादेश ल्याएर विभाजनको परिस्थिति निर्माण गरी पार्टी फुटाउने, संसद भंग गर्ने, संकटकाल लगाउने लगायत संभावना रहेको अनुमान गरिएको छ।

सो कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले अनन्तकालसम्म पार्टीको बैठक लम्ब्याउन नसकिने पनि बताए।

नेता नेपालले सधैँभर बैठक लब्म्याउँदा पार्टी र सरकार दुवै बदनाम भैरहेको र अहिलेको अवस्था कायम रहे पार्टी समाप्त हुने बताए।

‘आज पनि बैठक बसेका थियो। पार्टी अध्यक्ष कमरेड व्यस्त हुनु भएकाले केही समय दिउँ भन्ने कुरा भयो। तर यो अनन्तकालसम्म लम्ब्याउने काम गर्नु हुदैन,’ नेता नेपालले भने, ‘सधैभरी लम्ब्याउँदै जादा पार्टी जनतामा बदनाम भैरहेको छ, सरकार अलोकप्रिय भैरहेको छ, पार्टी नामको चिज कागजमा सिमित छ। यो मृतप्रायः अवस्थामा पुगेको छ।’

उनले पार्टीमा मानिस संगठित नै हुन छाडेको, पार्टी कमिटी क्रियाशील नै हुन नसकेको बताए। ‘यस्तो अवस्था भयो भने हेर्दाहेर्दै पार्टी सकिन्छ,’ उनले चिन्ता व्यक्त गरे।

बिहीबार दिउँसो भएको नेकपा सचिवालय बैठकमा अन्य काममा व्यस्त रहेको भन्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि शनिबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ।

बैठकले प्रधानमन्त्री ओलीसँग सम्बन्धित विषयमै छलफल गर्नुपर्ने भएकाले शनिबार हुने बैठकमा अनिवार्य उपस्थितिकालागि आग्रह गरेको छ।

नेकपाभित्र विवाद चर्किदै जाँदा प्रधानमन्त्री ओली पार्टीका कमिटीहरुमा अल्पमतमा परेका छन्। त्यही कारण उनले बैठकहरु छल्न खोजेको आरोप पार्टीभित्र उनीसँग असन्तुष्ट रहेका नेताहरुले लगाउने गरेका छन्।

कार्यक्रममा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको नाम नलिई आलोचना गरेका थिए। ‘आइ एम द स्टेट जस्तो आइ एम द पार्टी भन्ने विचारको कारण अहिले समस्या आएको हो,’ नेपालले भने।

सो कार्यक्रममा नेता नेपालले एमाले र माओवादीबीचको एकता दुई अध्यक्षबीचको एकता मात्रै नभएको बताए।

‘जसरी माले र मार्क्सवादीबीचको एकता हुँदा मदन भण्डारी र मनमोहन अधिकारीबीचको एकता थिएन। अहिले पनि एमाले र माओवादीबीचको एकता हुँदा पनि दुई अध्यक्षबीचको एकता मात्रै होइन,’ नेता नेपालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .