राजनीति


निकट नेताहरुलाई प्रचण्डको ब्रिफिङ : ओली रुपान्तरण नभए अब छिट्टै निष्कर्षतर्फ जानुपर्छ

निकट नेताहरुलाई प्रचण्डको ब्रिफिङ : ओली रुपान्तरण नभए अब छिट्टै निष्कर्षतर्फ जानुपर्छ

नेपालखबर
मंसिर १४, २०७७ आइतबार १६:५५,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरुसहित आफूनिकट स्थायी समिति सदस्यहरुसँग सामुहिक र एकल रुपमा छलफल गरेका छन्।

ओलीको जवाफी प्रतिवेदनबारे सचिवालय बैठकमै लामो व्याख्या गरेका प्रचण्डले आइतबार विहानदेखि साँझसम्म वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।

यस्तै आफूनिकट स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, वर्षमान पुन, मात्रिका यादव लगायतसँग पनि प्रचण्डले सघन छलफल गरेका छन्।

कात्तिक २८ गते प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै ओलीले शनिबार बसेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमा व्यक्त गरिएका कतिपय विषय र सन्दर्भहरुकाे बारेमा बैठकमा कुरा उठाउने नेताहरुले तयारी गरेका छन्।

‘प्रतिवेदनमाथि १६ गते बस्ने बैठकमा छलफल हुन्छ, त्यो दिन प्रधानमन्त्री ओलीबाट के प्रस्ताव आउँछ हेरौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रतिवेदनमा पार्टी एकता अघिका केही गम्भीर कुरा उठाइएको छ, यसको जवाफ बैठकमै खोज्नेछौं।’

प्रचण्डले ओली रुपान्तरण नभई केही नहुने स्पष्ट पारेको ती नेताले बताए।

‘ओलीजी रुपान्तरण हुन तयार भए पार्टी एकता महाधिवेशनसम्म जान्छ र एउटा नयाँ माहोल बन्न सक्छ, तर रुपान्तरण नहुने र विधि, पद्धति पनि नमान्ने हो भने कमिटीमा छलफल मात्रै हुँदैन अब एउटा निष्कर्षतिर जान्छ?’ प्रचण्डले नेताहरुसँग भनेका थिए।

नेकपाका दुई अध्यक्षको प्रतिवेदन औपचारिकरुपमा पार्टी कमिटीमा पेस भएपछि पार्टीभित्रको विवाद अब थप चर्किनसक्ने खतरा रहेको भनी नेताहरुले चिन्ता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .