राजनीति


संसदीय समितिमा आफ्नै पार्टीका सांसदमाथि खनिए देउवा

संसदीय समितिमा आफ्नै पार्टीका सांसदमाथि खनिए देउवा

नेपालखबर
साउन १४, २०७६ मंगलबार ११:५१,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय समितिमा विधेयकमाथिको छलफलमा भाग लिँदा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन पार्टीका सांसदहरुलाई सचेत गराएका छन्।

कांग्रेस सांसद जिपछिरिङ लामाले विज्ञापन बोर्ड गठन समानुपातिक सिद्धान्तको आधारमा हुुनुपर्ने अडान लिएपछि सभापति देउवाले त्यसप्रति प्रतिवाद गर्दै संसदीय समितिमा प्रतिपक्षको रुपमा प्रस्तुत नहुन सचेत गराएका हुन्।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमनका लागि व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सबै क्षेत्रमा समानुपातिक सिद्धान्तको आधारमा अघि बढ्न सम्भव नभएकाले त्यसलाई समावेशी सिद्धान्तको आधारमा अघि बढाउने व्यवस्था संविधानमा गरिएको पनि स्पष्ट पारे।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीका सांसद लामालाई समानुपातिक मात्रै भनेर हुन्छ, काम गर्न सहज हुनुपर्दैन? भनि प्रश्न पनि गरे। उनले विज्ञापन बोर्ड ठूलो हुने भएकाले पनि त्यसलाई समानुपातिक सिद्धान्तको आधार गर्न नसकिने तर्क पनि गरे।

यता, कांग्रेस सांसद लामाले भने संविधानको व्यवस्था अनुसार सो बोर्डको गठन गर्दा समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्नुपर्ने अडान राखेका थिए। सोही विषयलाई लिएर सभापति देउवा आफ्नै पार्टीका सांसद लामाप्रति खनिएका हुन्।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पनि समावेशी सिद्धान्तको आधारमा विज्ञापन बोर्ड गठन गर्ने व्यवस्था संविधानमै भएकाले सोही अनुसारको प्रावधान राखिएको स्पष्टिकरण दिएका थिए।

बैठकमा कांग्रेस सांसद हिरा गुरुङले सरकारले गठन गर्ने कुनै पनि निकायमा संविधान बमोजिम ५० प्रतिशत महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने माग गरे। यता, कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा रहने सदस्यहरुलाई दिने भत्ता पनि कानुनमै उल्लेख गरेर जानुपर्ने प्रस्ताव अघि सारे।

बैठकमा समितिका सदस्यहरुले विज्ञापन बोर्डमा नियुक्त हुने अध्यक्षलाई मात्रै तलवको व्यवस्था गर्नुपर्ने पनि बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .