सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका नेता क्षितिज सापकोटा ‘किरण’ले जन्मदिनको अवसरमा शीरर दान गरेका छन्।
विद्यार्थी नेता सापकोटाले आफ्नो मृत्युपछि शरीरलाई चिकित्सा विज्ञानको प्रयोगमा ल्याउने गरी शरीर दान गरेका हुन्।
आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार सापकोटाले चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको एनोटोमी विभागमा पुगी शरीर दान गर्ने मन्जुरी नामामा हस्ताक्षर गरेका हुन्।
सो मन्जुरीनामामा एनोटोमी विभागका प्रमुख निर्जु रञ्जितले र विभागका तर्फबाट र सापकोटाले दानकर्ताका तर्फबाट हस्ताक्षर गरेका हुन्।
कास्कीको मादी गाउँपालिका–४ का सापकोटा कास्कीका सक्रिय राजनीतिकर्मी हुन्।
तत्काकालीन अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिव समेत बनेका सापकोटा अहिले नेकपाको कास्की जिल्ला सदस्य र विद्यार्थी संगठनको केन्द्रीय सचिवालय सदस्यका रुपमा कार्यरत छन्।
‘जिउँदो छँदासम्म परिवर्तन र आन्दोलनमै लाग्छु’, उनले भने, ‘मरेपछि पनि आफ्नो शरीर मेडिकल साइन्सका विद्यार्थीहरुलाई काम लागोस् भनेर यो शरीर दान गर्ने निर्णयमा पुगेको हुँ।’
उनले यो सामान्य विषय भए पनि धार्मिक र सामाजिक हिसाबले जटिल बनाएका कारण आफूजस्तै चाहना भएका धरै व्यक्तिहरु खुम्चिएर बसेको बताए। उनले शरीर दानलाई सहज बनाउन समेत आग्रह गरे।
यसअघि पनि सापकोटाले आफ्नो जन्मदिन अशक्त र असाहयहरुलाई सहयोग गरेर मनाउँदै आएका थिए।
सो अवसरमा विभागीय प्रमुख रञ्जित शरीरका विभिन्न अंग दान गर्ने व्यक्तिहरु धेरै भएको पाइएपनि सम्पूर्ण शरीर दान गर्ने भने कमै हुने गरेकोले जनाकारी दिए।
उक्त विभागमा अहिलेसम्म सापकोटासहित १० जनाले शरीर दान गर्नेगरी मन्जुरीनामामा हस्ताक्षर गरिसकेका छन्।

प्रतिक्रिया