राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो कार्यशाला गोष्ठी काठमाडौँमा हुँदैछ।
एशिया प्रशान्त क्षेत्रमा आएका विपद्पछि आवास प्रतिकार्यमा हासिल गरिएका बृहत् अनुभव आदानप्रदान गर्ने मूल अभिप्रायले गोष्ठीको आयोजना गर्न लागिएको हो।
गत वर्ष इन्डोनेसियामा आयोजित तेस्रो कार्यशाला गोष्ठीको सर्वसम्मत निर्णयबाट चौथो कार्यशाला नेपालमा गर्ने निर्णय भएको थियो। कोभिड–१९ को महामारीका कारण यसपटक यो कार्यशाला अनलाइन विधिबाट गर्न लागिएको हो। अवस्था सामान्य भए २०७७ चैतमा भौतिक उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम काठमाडौँमै आयोजना गरिने बताइएको छ।
गोष्ठीमा राम्रा अभ्यासको सिकाइबाट समुदायको संलग्नतामा समुदायबाट नेतृत्व गरिएका सुरक्षित र प्रतिष्ठित आवास कार्यक्रमका प्रयासलाई उजागर गर्दैै विपद् प्रतिकार्यमा सहकार्यका लागि सम्भावनाको खोजी गरिनेछ। फोरमले एशिया प्रशान्त क्षेत्रका आवास तथा आवासीय क्षेत्रमा काम गरिरहेका अभ्यासकर्तालाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नुका साथै आवास अभ्यासकर्ताको क्षमता अभिवृद्धिका लागि प्रयास गर्नेछ।
विपद् प्रतिकार्यमा सहकार्य एवं सहयोग गर्ने समुदायका लागि परीक्षण गरिएका उपयुक्त समाधानका विधिको जानकारी दिने र प्राविधिक सहयोग उपलब्ध गराउने लक्ष्यका साथ फोरमले यो क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ। कार्यशाला गोष्ठीलाई हाउजिङ रिकोभरी एण्ड रिकन्स्ट्रसन प्लेटफर्म (एचआरआरपी), क्याथोलिक रिलिफ सर्भिसेस (सीआरएस), इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आइैएफआरसी), युरोपियन युनियन (ईयू), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), ह्याविट्याट फर ह्युम्यानिटी र गैरसरकारी संस्था महासंघले समन्वय गर्ने प्राधिकरणले जनाएको छ।
कार्यशालाको उद्घाटन आज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गर्नैछन् भने अध्यक्षता मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंहले गर्नेछन्। रासस

प्रतिक्रिया