राजनीति


प्रधानमन्त्रीले कांग्रेसलाई सत्तामा ल्याउने अफर गरेका छैनन्, शंकै नगर्नुस् : शर्मा (भिडियो)

प्रधानमन्त्रीले कांग्रेसलाई सत्तामा ल्याउने अफर गरेका छैनन्, शंकै नगर्नुस् : शर्मा (भिडियो)

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ११:५५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ।

लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो।

पार्टीभित्र द्वन्द्व चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई लक्षित गर्दै कांग्रेसले अहिले सरकारमा सहभागि हुने कुनै सम्भावना नरहेको बताएको हो।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताए।

उनले भने, ‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनकाा लगि यो विषयवस्तु र त्यो विषयवस्तु भनेर सूचीका साथ हुनुपर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन। लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु राम्रो कुरा हो।’

उनले प्रधानमन्त्रीले सत्तामा सहभागि गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो की भन्ने आशंका नगर्न पनि आग्रह गरे। अहिले सरकारमा सहभागि हुने कांग्रेसको रुचीको विषय नभएको शर्माको भनाई छ। जनताले ५ वर्ष प्रतिपक्षी भूमिकामा बस्न आदेश दिएकाले सत्ताका लागि आफूहरु लालयित नभएको उनले बताए। उनले नेकपाभित्रको द्वन्द्वमा आफ्नो पार्टी पुरै निरपेक्ष रहेको समेत बताए।

उनले भने, ‘५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ। हामी सत्ताका लागि लालायित छैनौँ। नेकपाभित्रको द्वन्द्वमा हामी पुरै निरपेक्ष छौँ। उहाँहरुको कुनै प्रकारको जोर घटाउ हुँदै गर्दा प्रतिपक्षी टाउको गणना गर्ने काम कतैबाट नहोस् भन्ने हो।’

विगत अढाई वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण निर्णय गर्दा पार्टी सभापति एक्लैले नगरेको स्मरण गराउँदै शर्माले पहिले पदाधिकारी तहमा छलफल गरेर केन्द्रीय कार्यसमितिको निर्णय अनुसार अगाडि बढ्ने बताए।

भोलिको दिनमा नेकपा एउटै बाटोमा जान्छ भन्ने टुंगो नभएको उल्लेख गर्दै शर्माले भने, ‘उनीहरु एउटा निश्चित टुंगोमा नपुग्दासम्म नेपाली कांग्रेसले टिप्पणी गरिराख्नुपर्ने, धेरै चासो राख्नुपर्ने र सत्तारुढ दलमा केही द्वन्द्व भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad