सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताएका छन्।
शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन्।
‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपायहरु खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहन नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन्।
याे पनि : चितवनमा प्रधानमन्त्री ओली समर्थक कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार (भिडियाे)
शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गर्नुका साथै हो–हल्ला गरेका थिए।
नेता पाण्डेविरुद्ध प्रदर्शन गर्ने टोलीको नेतृत्व साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाले गरेको स्थानीय नेताहरले बताएका छन्।
थपलिया प्रदेश कृषि मन्त्री धावा लामाका ज्वाइँ तथा स्वकीय सचिव हुन्। उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन्। उनीहरु सबै प्रधानमन्त्री ओली निकट रहेको बताइएको छ।
पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डे सोही क्षेत्रको सांसद समेतहुन्। उनी विकास निर्माण आयोजनाको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन शुक्रबार चितवन पुगेका थिए।
नेकपाभित्र विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने पाण्डेले प्रधानमन्त्री ओलीविरुद्ध गलत अभिव्यक्ति दिएको, गुटलाई पश्रय दिएको भन्दै उनीहरुले पाण्डेकाविरुद्ध प्रदर्शन गरेको बताएका थिए।
यसअघि वरिष्ठ नेता माधव कुमार नेपालले पाण्डेमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका थिए।
याे पनि : माधव नेपालले भने : सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्ने जो भए पनि कारबाही गर्नुपर्छ
Shares

प्रतिक्रिया