राजनीति


दरबार हत्याकाण्डयता बन्द ‘श्री सदन’ खुला गरिँदै, जहाँ बस्थ्याे राजा वीरेन्द्रकाे परिवार

दरबार हत्याकाण्डयता बन्द ‘श्री सदन’ खुला गरिँदै, जहाँ बस्थ्याे राजा वीरेन्द्रकाे परिवार

नेपालखबर
मंसिर ६, २०७७ शनिबार ३:५९,

तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने निजी निवास नागरिकले हेर्न पाउने गरी खुला गरिने भएको छ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको घर ‘श्री सदन’ आज (शनिबार) दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खुला भएको औपचारिक शुभारम्भ गर्ने भएका हुन्।

तर सर्वसाधारण नागरिकले भोलि (आइतबार) देखि श्रीसदन अवलोकन गर्न पाउने उनले जानकारी दिएका छन्। 

२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएदेखि श्री सदन बन्द छ।

तत्कालीन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा श्री सदन भवन निर्माण गरिएको थियो। युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट श्रीसदन सरेका थिए।

तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिल र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदन सरेका थिए।

आइतबारदेखि ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत सर्वसाधरणले अवलोकन गर्न पाउने गरी खुला हुने बताइएको छ।

श्री सदनमा के के हेर्न पाइन्छ?

तीनतले श्री सदनमा १२ कोठा छन्। तत्कालीन राजा वीरेन्द्रले प्राकृतिक रूप जाेगाउन भन्दै भवनबाहिर रङरोगन गर्न दिएनन्। भुुइँतलामा राजा वीरेन्द्र र रानी ऐश्वर्यका निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा (डाइनिङ हल) र विश्राम गर्ने कोठा छन्।

युवराजाधिराज दीपेन्द्र शाह उमेर नपुगुन्जेल श्री सदनको भुइँतलामा बस्थे। उनी त्रिभुवन सदनमा सरेपछि उनकाे कोठा खाली थियो। भुइँतलामा मदिरा पिउने बारको समेत व्यवस्था थियो। दरबार हत्याकाण्डपछि त्यहाँ रहेका महँंगा रक्सी कसले लग्यो भन्ने अत्तोपत्तो नभएको दरबारका पुराना कर्मचारी सुनाउँछन्।

श्रीसदनको पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष हेर्न पाइन्छ। रानी ऐश्वर्यको कक्षमा क्यासेट प्लेयर, गीतका चक्का, टेलिभिजन आदि राखिएका छन्। दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुतिका शयन कक्ष छन्।

संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालका अनुसार सन् १९३९ मा राजा त्रिभुवनलाई हिटलरले उपहार दिएको गाडी पनि सर्वसाधारणले अवलाेकन गर्न पाउनेछन्। साथै राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले प्रयोग गरेका गाडी, दीपेन्द्र, श्रुति र नीराजन शाहले सानोमा प्रयोग गरेका खेलौना गाडी, वीरेन्द्रले प्रयोग गरेका हवाईजहाज र हेलिकप्टरसमेत प्रदर्शनीमा राखिने छन्।

विमानहरू बदामे चौरमा राखिएका छन्। श्री सदनबाट गणतन्त्र स्मारकसम्म जाँदा बीचमा पर्ने टुकुचा खोलामा पुल नभएकाले नारायणहिटी दरबार परिसरबाट बाहिरिएपछि पूर्वतर्फकाे प्रवेशद्वारबाट गणतन्त्र स्मारक जान सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad