अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पदबाट हट्न अब धेरै दिन बाँकी छैन। किनकि भर्खरै भएको राष्ट्रपतीय निर्वाचनमा उनी जो बाइडेनसँग पराजित भइसकेका छन्।
रिपब्लिकन पार्टीका आफ्ना प्रतिस्पर्धी ट्रम्पलाई हराउँदै विजयी बनेका डेमाेक्रेट पार्टीका बाइडेन विशेष परिस्थिति उत्पन्न नभएमा आगामी जनवरी २० तारिख अमेरिकाको नयाँ राष्ट्रपतिका रूपमा ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) प्रवेश गर्नेछन्।
सन् २०२० (अहिले) को चुनावले ट्रम्पलाई अमेरिकामा सन् १९९० यता एक कार्यकाल मात्रै शासन गर्ने पहिलो राष्ट्रपति बनाइदिएको छ।
राष्ट्रपतिका लागि उम्मेदवार बन्नुभन्दा धेरै अगाडिदेखि नै ट्रम्प एक रसिक अर्बपतिका रूपमा प्रख्यात् थिए। उनी आफूलाई ‘द डोनल्ड’ भनेर चिनाउँथे।
सन् २०१६ मा राष्ट्रपतिको उम्मेदवार बन्न खोज्दा नै आप्रवासनबारे उनका ‘आपत्तिजनक’ धारणा र प्रचारप्रसार तथा विवादास्पद विगतका कारण ट्रम्पले रिपब्लिकन पार्टीबाट टिकट पाउने शंका गरिएको थियो। तर सबै अनुमानलाई फेल ख्वाउँदै उनले रिपब्लिकन दलमा भएको प्रारम्भिक प्रतिस्पर्धामा पुराना नेतालाई पराजित गरे।
त्यसपछि उनले एकदमै विवादास्पद निर्वाचनमा हिलारी क्लिन्टनलाई हराउँदै ह्वाइट हाउसको यात्रा सुनिश्चित गरे।
प्रारम्भिक जीवन
ट्रम्प न्युयोर्कका एक जना घरजग्गा व्यापारी फ्रेड ट्रम्पका चौथा सन्तान हुन्। विद्यालयमा दुर्व्यवहार गर्न थालेपछि उनलाई १३ वर्षको उमेरमा एउटा सैन्य प्रतिष्ठानमा पठाइयो।
पछि उनका जेठा दाइले विमानचालक बन्ने निर्णय गरेपछि ट्रम्पलाई चाहिँ उनका बुबाले आफ्नो व्यापारिक साम्राज्यको उत्तराधिकारी बनाउने विचार गरे। रक्सीको लतका कारण ४३ वर्षको उमेरमा दाइको मृत्यु भएपछि ट्रम्पले पनि मद्यपान र धूमपान छाडेका हुन्।
कम्पनीमा प्रवेश गर्नुअघि आफूले पितासँग १० लाख डलर सापट लिएर घरजग्गा व्यवसाय ‘रिअल स्टेट व्यवसाय’ थालेको ट्रम्पले बताउने गरेका छन्।
कम्पनीमा आफ्नो वर्चस्व कायम भएपछि सन् १९७१ मा उनले उक्त कम्पनीको नाम फेरेर ट्रम्प अर्गनाइजेसन राखे।
धनाढ्य व्यापारी
ट्रम्पले परिवारको व्यापार ब्रुक्लिन र क्विन्सबाट म्यान्हटनमा सारेर कमजोर होटललाई बलियो बनाए। उनले प्रसिद्ध ६८(तले ट्रम्प टावरका साथै ट्रम्प प्लेस, ट्रम्प वर्ल्ड टावर, ट्रम्प इन्टर्न्याश्नल होटलजस्ता संरचना निर्माण गरे। मुम्बई, इस्तानबुल र फिलिपिन्समा पनि ट्रम्प टावर छन्।
ट्रम्पले होटल र क्यासिनोको क्षेत्रमा पनि व्यापार विस्तार गरे भने मनोरञ्जन उद्योगमा पनि हात हाले।
सन् १९९६ देखि २०१५ सम्म मिस युनिभर्स, मिस यूएसए, मिस टिन यूएसएजस्ता सौन्दर्य प्रतियोगिता सञ्चालन गर्ने संस्था उनको स्वामित्वमा थियो।
सन् २००३ मा उनले एनबीसी टीभीमा एउटा रिआलिटी सो ‘द अप्रेन्टिस’ सञ्चालन गर्न थाले। यसको १४ औं सिजन सञ्चालन गर्दा उनले २१।३ करोड अमेरिकी डलर पारिश्रमिक लिएको घोषणा गरेका थिए।
ट्रम्पका केही पुस्तक पनि प्रकाशित छन्। उनको स्वामित्वमा नेक(टाईदेखि बोटलबन्द पानीसम्म बेच्ने व्यवसाय छन्।
फोर्ब्स म्यागजिनका अनुसार उनको कूल सम्पत्ति २.५ अर्ब डलरजति छ। गत सेप्टेम्बरमा न्युयोर्क टाइम्सले प्रकाशन गरेको विवरणअनुसार ट्रम्पले सन् २०१६ र राष्ट्रपति बनेको पहिलो वर्ष जम्मा ७५० डलर आयकर तिरेका छन्। तर ट्रम्पले त्यसलाई ‘झुटो’ भन्दै खण्डन गरे।
पारिवारिक जीवन
ट्रम्पले तीनपटक बिहे गरे। उनकी प्रथम पत्नी इभाना जेलनिक्कोभा चेक धाविका तथा मोडल थिइन्।
उनीबाट डोनल्ड जुनियर, इभान्का र एरिक गरी तीन सन्तान छन्। तर इभानाले सन् १९९० मा सम्बन्ध–विच्छेदको आवेदन दिएपछि सञ्चारमाध्यममा त्यसबारे निकै चर्चा भएको थियो।
इभानाले ट्रम्पले आफूलाई शोषण गरेको आरोप पनि लगाएकी थिइन्। तर पछि उनले ती घटनाबारे अलि नरम बोलेकी थिइन्।
सन् १९८९ मा इभाना र ट्रम्प
सन् १९९३ मा उनले अभिनेत्री मार्ला म्यापल्ससँग बिहे गरे। उनबाट एक छोरी टिफनी भएको छ। तर ट्रम्प र मार्लाको १९९३ मा सम्बन्ध–विच्छेद भयो।
त्यसपछि ट्रम्पले सन् २००५ मा स्लोभेनियाली मोडल मेलानियासँग बिहे गरे। उनीहरूका एक छोरा ब्यारन विलियम ट्रम्प छन्।
प्रथम पत्नीका सन्तानले ट्रम्पलाई अहिले ट्रम्प अर्गनाइजेसन सञ्चालन गर्न सघाउँछन्। जेठी छोरी इभान्का भने ट्रम्पसँगै ह्वाइट हाउसमा छिन्। उनका पति ज्यारेड कुश्नर र इभान्का ट्रम्पका सल्लाहकार छन्।
राजनीतिमा रुचि
ट्रम्पले पहिलोपटक सन् १९८७ मा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका थिए। सन् २००० मा उनी रिफर्म पार्टीबाट उम्मेदवार पनि बने।
सन् २००८ पछि ट्रम्प बाराक ओबामा अमेरिकामा जन्मिएका हुन् कि होइनन् भनेर प्रश्न गर्ने अभियानमा सहभागी भए। ओबामा हवाईमा जन्मिएको प्रमाण छ। ट्रम्पले पछि त्यो स्वीकारे पनि क्षमा भने मागेनन्।
२०१५ जुनमा ट्रम्पले औपचारिक रूपमै राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गरे।
‘मेक अमेरिका ग्रेट अगेन’ नारासहित उनले विवादास्पद अभियान थाले। अमेरिकी अर्थतन्त्रलाई सुदृढ बनाउने, मेक्सिकोसँग अमेरिकाको सीमामा पर्खाल बनाउने र मुसलमान आप्रवासीलाई अमेरिका आउन अस्थायी प्रतिबन्ध लगाउने उनको योजना थियो।
निर्वाचनमा विजयी भएपछि ट्रम्पको भेट पदासीन राष्ट्रपति बाराक ओबामासँग भयो। ट्रम्प अमेरिकी सरकारमा कुनै पद वा सैन्य सेवा नगरेका प्रथम राष्ट्रपति हुन्।
अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा २०१७ जनवरीमा पदभार ग्रहण गर्नुभन्दा अघि नै ७४ वर्षीय ट्रम्पले यसरी नयाँ कीर्तिमान बनाइसकेका थिए।
राष्ट्रपतिको कार्यकाल
कोरोना महामारीका कारण अमेरिका यतिबेला विश्वमै सबैभन्दा बढी आक्रान्त छ। ट्रम्प आफैं पनि संक्रमित भए।
उम्मेदवारीजस्तै ट्रम्पको राष्ट्रपतीय कार्यकालमा पनि विवाद र नाटकीय घटनाक्रम भए।
पदभार ग्रहण गरेपछि उनले आफ्नो पहिलो कार्यकारी आदेशमा सात देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइदिए। यीमध्ये अधिकतर मुलुक मुस्लिम बाहुल्य थिए। धेरै आलोचित उक्त आदेशलाई सर्वोच्च अदालतले सदर गरिदियो।
केही महिनापछि उनले एफबीआईका निर्देशक जेम्स कमीलाई पदबाट हटाइदिए।
सन् २०१६ मा ट्रम्पपक्षीय निर्वाचन अभियान र रुसबीच सहकार्य भएको भन्ने आरोपबारेको अनुसन्धानसँग त्यो निर्णय सम्बन्धित रहेको आशंका गरिएको छ।
त्यसपछि ट्रम्पले जो बाइडनलाई बदनाम गराउन एउटा देशलाई दबाब दिए भन्ने आरोप लाग्यो। त्यसपछि डेमोक्रेटिक पार्टीको नेतृत्वमा उनीवरुद्ध महाभियोग लगाइयो। अमेरिकाको इतिहासमा महाभियोग खेप्ने राष्ट्रपतिमा ट्रम्प तेस्रा हुन्।
अहिलेको निर्वाचन परिणाम आफ्ना पक्षमा नआएपछि ट्रम्पले धाँधली भएको आरोप लगाएका छन्। तर आरोप पुष्टि गर्ने प्रमाण उनीसँग छैन।
उनका पक्षधरले विभिन्न राज्यमा पुनः मत गणना गर्न माग गर्दै अदालतमा मुद्दा हालेका छन्। बीबीसीबाट

प्रतिक्रिया