सत्तारुढ नेकपाभित्रको पार्टी विवादबारे छलफल गर्न कार्यकारी पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।
आफूले बोलाएको सचिवालय बैठकमा जानुअघि अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
बैठकअघि प्रधानमन्त्री ओलीले छलफलका लागि बोलाएपछि प्रचण्ड बालुवाटार पुगेका थिए। प्रधनामन्त्री ओलीसँगको भेटपछि अध्यक्ष प्रचण्ड अहिले पार्टी कार्यालय धुम्बाराही पुगिसकेका छन्।
बैठकका लागि वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत पार्टी कार्यालय पुगेका छन्।
ओलीको कार्यशैलीको विरोध गर्दै प्रचण्डसहित वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले आपसी छलफललाई तीब्र पारेका हुन्।
भदौ २६ गतेको स्थायी समितिको निर्णय कार्यान्वयन नगरेको, पार्टीभित्र एकलौटी गरेको लगायतका असन्तुष्टि जनाउँदै बहुमत सचिवालय सदस्यले ओलीलाई बैठक राख्ने सहमति जनाउन शनिबार दुई पेजको लिखित पत्र बुझाएका थिए।
उनीहरुले ४८ घण्टाभित्र बैठक बोलाउनुपर्ने भन्दै दिएको अल्टिमेटम सकिएपछि पनि बैठक नबोलाएपछि उनीहरु फेरि जुटेका हुन्।
बैठक बोलाउने सहमति जनाउन दिएको ४८ घण्टामा पनि ठोस प्रस्ताव नआएपछि सोमबार साँझ बसेको प्रचण्ड–नेपाल पक्षको छलफलले आजको लागि बैठक बोलाउने निर्णय गरेको थियो ।
याे पनि: ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले बोलाए सचिवालय बैठक

प्रतिक्रिया