विश्वभरबाट बाइडेनलाई जितको बधाई तथा शुभकामना आइरहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादमिर पुटिनसहित विश्वका केही नेताहरुले भने उनलाई अझैसम्म पनि बधाई दिएका छैनन्।
उनीहरुको मौनताले विभिन्न अर्थ राख्ने विश्लेषकहरु बताउँछन्।
जो बाइडेन र कमला ह्यारिस
रुसी राष्ट्रपति भ्लादमिर पुटिन
चारवर्ष अगाडि जब डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका थिए, त्यसबेला उनले ट्रम्पलाई शुभकामना सन्देश पठाएका थिए।
तर यसपटक जो बाइडेनको विषयमा पुटिनले अहिलेसम्म केही बोलेका छैनन्। रुसले सोमबार मात्र राष्ट्रपतिको औपचारिक घोषणापछि मात्र पुटिनले बधाई सन्देश दिने स्पष्ट पारेको छ।
ट्रम्पले चुनावमा धाँधली भएका कारण आफू अदालत जाने बताइरहँदा रुसले यी कानुनी प्रक्रियाको निष्कर्षपछि मात्र औपचारिक शुभकामना सन्देश पठाउने योजना बनाएको हो।
ट्रम्प र पुटिन
बीबीसीका मस्कोस्थित संवाददाता स्टिभ रोजनबर्गका अनुसार पुटिनले बाइडेनलाई बधाई नदिनुको कारण रुसले बाइडेनको जित रुचाएको छैन।
बाइडेन रुसको कडा आलोचना हुन्। उनले रुस अमेरिकाको ठूलो खतरा भएको बताउँछन्। ट्रम्पले भने रुसको विरलै आलोचना गरेका छन्। यसअघि रुसले ह्याकिङ गराएर ट्रम्पलाई चुनाव जिताएका हल्ला चलेका थिए।
चिनियाँ राष्ट्रपति सी चिनफिङ
चिनियाँ राष्ट्रपति सीले पनि सन् २०१६ को अमेरिकी चुनावी नतिजा आउनासाथ ट्रम्पलाई बधाई दिएका थिए।
तर यसपटक भने सी मौन छन्।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनको अभिव्यक्तिले सोमबार बाइडेनको जितलाई संकेत त गर्यो तर बेइजिङले चुनावमा अमेरिकी कानुन र प्रक्रिया पालना भएको छ या छैन त्यसलाई हेर्न उनले बताएका छन्।
सी र ट्रम्प
ट्रम्प चीनविरुद्ध आक्रमक थिए, ट्रम्पकै पालामा चीन र अमेरिकाबीच व्यापार युद्ध सुरुवात भयो। ट्रम्पले कोरोना भाइरसको विषयमा चीनको चर्को आलोचना गरेका छन्।
यसबीचमा चीनविरद्ध कडा नीति लिने विषयमा बाइडेन भने होसियार र गम्भीर हुने अपेक्षा गरिएको छ। यसअघि चिनियाँ विश्लेषकहरुले ट्रम्प पराजित भएपनि चीनविरद्धको कडा नीति अमेरिकाले नत्याग्ने बताएका थिए।
चुनावी अभियानका क्रममा पनि बाइडेन र ट्रम्प चीनविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए। त्यसबेला चीनले आफ्नो चुनावी फाइदाका लागि चीनलाई बिचमा नल्याउने चेतावनी दिएको थियो।
किम जोङ उन
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पनि बाइडेनलाई जितको बधाई दिएका छैनन्।
डोनाल्ड ट्रम्प र किमबीच यसअघि शान्ति स्थापना गर्ने विषयमा तीनपटक प्रत्यक्ष भेटघाट भएको थियो।
ती वैठकहरुले निष्कर्ष भने दिन सकेको थिएन। किमले आफ्नो देशमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्ध सबै फुकुवा गर्न ट्रम्पसँग आग्रह गरेका थिए। ट्रम्पले किमको आग्रह नमान्दा दुई नेताको सम्बन्ध त्यति राम्रो छैन।
किम र ट्रम्प
तर यता बाइडेनले किमलाई आपराधिक व्यक्ति भएको बताउँछन्। किमले पनि यसअघि बाइडेनलाई एक मूर्ख र सामान्य गान नभएको व्यक्ति भएको बताएका थिए।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले पनि हालसम्म बाइडेनलाई शुभकामना सन्देश पठाएका छैनन्। जैर बोल्सोनारो ट्रम्पको प्रशंसक मानिन्छन्। कोरोना प्रकोपबीच बोल्सोनारोले ट्रम्पलेजस्तै मास्क लगाएका थिए।
बोल्सोनारोले ट्रम्पले भनेकोजस्तै कोरोना भाइरसलाई सामान्य रोग भएको बताउँथे। ट्रम्पले चुनावमा धाँधली भएको र आफू अदालतमा जाने बताएका छन्।
यी कानुनी झमेला समाप्त भएपछि बोल्सोनारोले अमेरिकी चुनावको विषयमा प्रतिक्रिया जनाउने अपेक्षा गरिएको छ।
यस्तै ट्रम्पसँग राम्रो सम्बन्ध भएको मेस्सीकोका राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्रादोरले पनि हालसम्म बाइडेनको जितमा प्रतिक्रिया नजनाएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया