ad ad

राजनीति


प्रचण्डले बैठकको मिति आजै तोकौं भन्दा ओली आक्रोशित भएपछि नेताहरुबीच यस्तो सवाल–जवाफ

प्रचण्डले बैठकको मिति आजै तोकौं भन्दा ओली आक्रोशित भएपछि नेताहरुबीच यस्तो सवाल–जवाफ

सागर न्यौपाने
कात्तिक २२, २०७७ शनिबार १५:५९,

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष शनिबारको भेटमा तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

उनीसँग निर्धारित समयमा भेट गर्न नपाएपछि झण्डै दुईघण्टा पार्टी कार्यालय धुम्बाराहीमा कुरेर लिखित पत्रसहित बालुवाटार पुगेका प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरुबीच ओलीले सो आक्रोश पोखेका हुन्।

बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार अध्यक्ष ओलीले प्रचण्डलाई हेप्ने र होँच्याउने शब्दको समेत प्रयोग गरेका थिए।

‘उहाँ (ओली)ले प्रचण्डलाई ह्युमिलेट र डिमोरलाइज गर्ने गरी नै बोल्नुभयो,’ ती नेताले भने।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग पार्टी कमिटिको बैठक राख्न आग्रह गर्नका लागि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँचजना नेताहरु शनिबार बालुवाटार पुगेका थिए।

‘हामी सबैजना त्यही आग्रह गर्न लिखित पत्रसहित आएका छौं, पार्टीभित्रको मात्रै कुरा हुने होइन, कोभिडले दैनिक रुपमा पारेको असर, अर्थतन्त्रमा पारेको प्रभाव लगायत विषयमा पनि छलफल गर्नुछ,’ कार्यकारी अध्यक्ष प्रचण्डले सुरुमा ओलीसँग भनेका थिए।

बैठकको मिति आजै तोकौं भनेर प्रचण्डले जोड गरेपछि ओली आक्रोशित भएको ती नेताको भनाइ छ।

शनिबार विहान नौ बजे ओलीलाई भेट्ने समय तय भएको थियो। अरु नेताहरु सो बैठकमा जाने तयारीमा रहेका बेला ओलीले एकघण्टा पछि भेटौं भनेर भनेपछि प्रचण्डसहितका पाँचैजना नेता पार्टी कार्यालय धुम्बाराही पुगेका थिए।

त्यहाँ दुई घण्टा बसेर सचिवालयका बहुमत नेताहरु बालुवाटार पुगेका हुन्।

उता ओली भने बालुवाटारमा आफूपक्षीय उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग छलफलमा थिए।

‘प्रचण्डसँग एक्लै भेट्दा पार्टी बैठक डाक्न ओलीले अस्वीकार गरेपछि हामी पाँचैजनाले सामूहिकरुपमा बैठक बोलाउन आग्रह गर्नका लागि बालुवाटार पुगेका थियौं,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘प्रचण्डले बैठकको मिति तोकौं भन्दा उहाँ (प्रधानमन्त्री) त सुरुमै प्रचण्डप्रति उत्तेजित र आक्रोशित रुपमा प्रस्तुत हुनुभयो।’

बैठक राख्न के कारणले अप्ठेरो भएको हो त्यो जानकारी गराउनुस् न त भन्दा पनि ओलीले नमानेको उनले बताए।

‘बैठक नै आयोजना नगर्ने, पार्टीभित्र यति धेरै इस्यू उठेका छन्, यस विषयमा छलफल नै नहुने यो दुखद् स्थिति सिर्जना भइसकेपछि अर्काे अध्यक्षलाई भनेकै हो, उहाँले तपाईसँग भेट पनि गर्नुभएकै हो तर तपाईले किन बैठक गर्दिन भनेर भन्नुभएको हो?’ ओलीलाई राखेको प्रश्नबारे खनालले भने।

त्यसको जवाफमा ओलीले आफूले बैठक गर्दिन भनेर नभनेको जिकिर गरे।

‘मैले बैठक गर्दिन भनेको छैन,’ ओलीले जवाफमा भनेका थिए।

पाँचै जना नेताहरुले बैठकको मिति तोक्न आग्रह गर्दा ओलीले सल्लाह नगरी मिति नतोक्ने अडान लिएको सचिवालयका अर्का एक नेताले बताए।

‘हामीले मिति तोकौं भन्दा उहाँले मान्नुभएन, फेरि पाँचैजनाले भन्दा सल्लाह गर्छु भन्नुभयो,’ ती नेताले भने, ‘कोसँग सल्लाह गर्ने? हामी पाँचैजना यहाँ छौं, बैठक तोक्नको लागि सल्लाह गर्ने को मान्छे हो भनेर प्रश्न गरिसकेपछि महासचिवसँग सल्लाह गर्छु भन्नुभयो।’

त्यसपछि त्यहाँ उपस्थित नेताहरुले ‘त्यसो भए यहीँबाट फोन गर्नुस् न त’ भनेका थिए।

जवाफमा प्रधानमन्त्रीले ‘म सल्लाह गर्छु मात्र’ भनेको ती नेताले बताए।

‘कार्यकारी अध्यक्षभन्दा महासचिवप्रति उहाँको बढि रुचि देख्दा हामीलाई त्यो कुरामा अलि अनौठो लागेको छ,’ उनले भने।

सो भेटमा बैठकमा वामदेव गौतमले ओलीकै कारण पार्टीभित्र समस्या देखिएको भन्दै उनको कार्यशैलीप्रति कडा प्रश्न उठाएको सहभागी एक नेताले बताए।

‘के के भन्नुभयो भनेर नभनौं, ओलीको कार्यशैलीप्रति वामदेवजीले थुप्रै प्रश्न उठाउनुभयो, पार्टीभित्र अहिलेको गतिरोध निम्त्याएकै तपाईंले हो भनेरै भन्नुभयो,’ ती नेताले भने।

अध्यक्ष ओलीले स्थायी समितिको बैठक र पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले दिएको सुझाव कार्यान्वयन नगर्दा यस्ता समस्या देखिएको वरिष्ठ नेता खनालले बताए।

ओलीले अर्का अध्यक्ष प्रचण्डलाई आफूइतर पक्षले पार्टीको औपचारिक बैठक राखे पार्टी फुट्नसक्ने चेतावनी दिएपछि शुक्रबार धुम्बाराहीमा अनौपचारिक बैठक राखिएको थियो। सो बैठकले ओलीसँग सामूहिकरुपमै बैठक राख्न आग्रह गर्ने निर्णय गरेको थियो।

सोहि निर्णयअनुसार शनिबार कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए।

उनीहरुको तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई बैठक माग गरिएको लिखित पत्र बुझाएका थिए।

बालुवाटारबाट बाहिरिएपछि अध्यक्ष प्रचण्डले अरु नेताहरुसँग बैठक राख्न ओलीको कुनै रुचि नभएको, पार्टी समस्याबारे छलफल गरेर निकास निकाल्न चासै नदिएकोले पार्टीका समस्या बल्झिएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .