राजनीति


नेपालको विकासमा सघाउन युन्नान र कान्सु प्रान्त इच्छुक

नेपालको विकासमा सघाउन युन्नान र कान्सु प्रान्त इच्छुक

चेतनाथ आचार्य
कात्तिक २२, २०७७ शनिबार ६:५०,

चीनको पश्चिमी क्षेत्रमा पर्ने युन्नान र कान्सु प्रान्तले नेपालसँग बहुआयामिक क्षेत्रमा सहकार्य गर्ने इच्छा देखाएका छन्। शाहाईमा आयोजित तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोका सिलसिलामा आयोजित साइडलाइन बैठकमा दुवै प्रान्तले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका हुन्।

गत बिहीबारदेखि सुरु भएको एस्प्पोमा अतिथिका रुपमा सहभागी हुन पुगेका चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँगको भेटमा ती दुई प्रान्तका अधिकारीले नेपालका बहुआयामिक क्षेत्रमा सहकार्य गर्ने बताएका बेइजिङस्थित नेपाली दूताबासका इकोनोमिक मिनिस्टर छबीन्द्र पराजुलीले नेपाल खबरलाई बताए। एक्स्पो उद्घाटनपछि गत बिहीबार राजदूत पाण्डेले ती दुई प्रान्तका भाइस गभर्नरसँग छलफल गरेका थिए।

राजदूत पाण्डेले शाङहाईमा बिहीबार मध्यान्ह युन्नान प्रान्तका भाइस गभर्नर लिउ होङच्याङसँग एकघण्टा छलफल गरेका थिए। छलफलमा सहभागी छबीन्द्र पराजुलीका अनुसार युन्नान प्रान्तले नेपालको कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा सहयोग गर्ने बताएको छ। नेपाल संघीय संरचनामा गएपछि नेपालका गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई तालिम दिएर क्षमता वृद्धि गराउने कुरा भाइस गभर्नर लिउले प्रस्ताव गरेका थिए। त्यसैगरी नेपालका स्थानीय तहले नै सामुदायिक विद्यालयको व्यवस्थापन गर्नुपर्ने नयाँ नीति अनुसार ती क्षेत्रमा पनि युन्नान प्रान्तले सहयोग गर्ने उनले बताए।

युन्नान प्रान्त चीनको पश्चिममा पर्ने प्रान्त हो। यस प्रान्तले दक्षिण एसियाली मुलुकसँगको सहकार्यमा विविध कार्यक्रम अगाडि सार्दै आएको छ। चाइना इस्टर्न एयरलाइन्सले काठमाडौँ खुन्मिक उडान भर्दै आएको छ। खुन्मिङ युन्नान प्रान्तको सदरमुकाम हो। खुन्मिङमा हरेक दुई वर्षमा दक्षिण एसिया एक्स्पोको रुपमा व्यापार मेला आयोजना हुँदै आएको छ। यस्तो व्यापार मेलामा नेपाल दुईपटक थिमकन्ट्री बनिसकेको छ।

दक्षिण एसियामा नेपालसँगको विशेष सम्बन्धकै कारण युन्नान प्रान्तले गत अप्रिलमा आयोजना गर्ने गरी १२५ वटा घोडामा चिया बोकाएर तिब्बत हुँदै लुम्बिनीसम्मको पैदय यात्राको कार्यक्रम तय गरेको थियो। युन्नान र लुम्बिनीलाई इतिहासमा चियाघोडा मार्गले जोडेको थियो। त्यही इतिहास ब्युझाउँदै नेपालमा चिनियाँ लगानी र चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्ने भनिएको घोडेयात्रा दुर्भाग्यवश कोरोना महामारीका कारणले रोकिएको छ।

राजदूत पाण्डेले युन्नानका भाइस गभर्नर लिउसँग नेपालमा लगानी वृद्धिका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहन गर्न अनुरोध गरेका छन्। प्रत्युत्तरमा नेपाली कृषि, पर्यटन, सेवा क्षेत्र तथा जलविद्युतमा चिनियाँ लगानीकर्ताको चासो रहेको लिउले बताए। दुई देशबीचमा विविध खालका आदानप्रदान बढाउँदै जाने भन्दै स्थानीय तह र शैक्षिक क्षैत्रको व्यवस्थापनमा तालिम तथा क्षमता अभिवृद्धिमा सघाउने बताएको पराजुलीले जानकारी दिए। स्थानीय तहका हरेक क्षेत्रलाई सबल पार्नका लागि युन्नान प्रान्तले विस्तृत योजना बनाएर छलफल गर्ने लिउले जवाफ दिएका छन्।

सोही दिन साँझ राजदूत पाण्डेले कान्सु प्रान्तका भाइसगभर्नर छङ स्याओपोसँग पनि छलफल गरेका छन्। कान्सु प्रान्तको सदरमुकाम लान्चौमा चीनको पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो सुख्खा बन्दरगाह निर्माण भएको छ। स्थलमार्गबाट नेपाल भित्रिने सबै सामग्री यही बन्दरगाह भएर जाने गर्दछ। नेपाल लक्षित मालबाहक रेलको थालनी विन्दु पनि लान्चौ नै हो। लान्चौको अन्तर्राष्ट्रिय व्यापारमा ठूलो हिस्सा नेपालले लिँदै आएको छ।

लान्चौले नेपालसँग हवाइ सम्बन्ध पनि स्थापना गर्ने इच्छा भाइसगभर्नर छङले व्यक्त गरेको पराजुलीले नेपालखबरलाई बताए। प्रत्युत्तरमा राजदूत पाण्डेले निकट भविष्यमा तयार हुने पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा लान्चौले उडान गर्न सक्ने जानकारी दिए।

भेटमा नेपाल र कान्सु प्रान्तबीचमा चेम्बर अफ कमर्स स्थापना गर्ने सहमति पनि भएको छ। कान्सुमा दक्षिण एसिया प्रदर्शनी केन्द्र रहेको छ। त्यस केन्द्रले चिनियाँ होटल व्यवसायीलाई लुम्बिनीमा गएर लगानी गर्न प्रेरित गर्ने र काठमाडौँमा कान्सु प्रदर्शनी केन्द्र खोल्ने कुरामा पनि सहमति भएको छ। कान्सुले पनि नेपाली कृषिलाई प्रवर्द्धन गर्नका लागि व्यावसायिक तालिम दिने भएको छ।

शाङहाई एक्स्पोपछि राजदूत पाण्डे चच्याङ प्रान्तको हाङचौमा जाँदैछन्। आइतबार उनी हाङचौमा रहेको अलिबाबाको कार्यालयमा गएर छलफल गर्ने पराजुलीले बताए। अलिबाबाले डिजिटल नेपाल नामक प्रोपोजल प्रस्ताव गरेको छ। विशेषगरी नेपालको इकमर्श क्षेत्रमा सहयोग गर्नका लागि अलिबाबाले चासो देखाएर उक्त प्रोपोजल हालेको र त्यही विषयमा कुरा हुने पराजुलीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad