राजनीति


‘सिकेजस्तै विप्लवसँगको वार्ता-परिणाम पनि आश्चर्यजनक आउनसक्छ’

‘सिकेजस्तै विप्लवसँगको वार्ता-परिणाम पनि आश्चर्यजनक आउनसक्छ’

दीपक खरेल
साउन १२, २०७६ आइतबार १३:५४,

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई राजनीतिक दलको मान्यता दिएर वार्ता अघि बढाउने तयारी गरेको छ।

सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको वार्ता टोलीले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा विप्लव समूहलाई राजनीतिक दलको मान्यता दिएर वार्ताको वातावरण बनाउनु पर्ने उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बनेको वार्ता टोलीका संयोजक सांसद पाण्डे विप्लव समूहका स्थायी कमिटी सदस्यसँग निरन्तर सम्पर्कमा छन्।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव प्रेमकुमार राईसँगको सल्लाहअनुसार उनले वार्ता प्रक्रिया अघि बढाइरहेका हुन्। गत बिहीबार पाण्डे नेतृत्वको वार्ता टोलीले गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘बिध्वंसात्मक र अतिवादी गतिविधिमा संलग्न रहेको राजनीतिक दल नेकपालाई वार्ताकै माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनु पर्छ।’

सरकारले विप्लव समूहलाई नभई उसका अतिवादी गतिविधि मात्र पूर्ण निषेध गरेको र यस्ता गतिविधि त्यागेमा वार्ताको वातावरण बन्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

नेपालखबरसँग आइतबार लामो कुराकानी गर्दै सांसद पाण्डेले विप्लव समूहसँग अहिले पनि सम्पर्कमा रहेको बताए। औपचारिक वार्ताको मिति यकिन नभए पनि वातावरण सकारात्मक बन्दै गएको उनको दाबी छ।

‘विप्लव समूहका उच्च नेतासँग हामी सम्पर्कमै छौं,’ सांसद पाण्डे भन्छन्, ‘सिके राउतसँग जसरी सबैलाई सप्राइज हुने गरी वार्ताको परिणाम आयो विप्लवसँग पनि त्यसैगरी आउन सक्छ।’

माइला लामा पक्राउले वार्ता भाँडिदैन
प्रहरीले विप्लव समूहका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामालाई ५ साउन २०७५ मा काठमाडौंको पेप्सीकोला क्षेत्रबाट पक्राउ गरेसँगै वार्ताको वातावरण बिग्रिएको कतिपयको भनाइ छ।

नेकपाका महासचिव विष्णु पौडेलले नख्खु कारागारमा रहेका विप्लवका स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीलाई भेटेका थिए। त्यसको केही दिनपछि पक्राउ परेका माइला लामा पूर्पक्षका लागि नख्खु कारागार चलान भएका छन्।

biplav graphics1

वार्तालाई अघि बढाइरहेका पाण्डेले ओली र लामाको पक्राउ फौजदारी कानुनको कार्यान्वयन भएको बुझाइ सरकार र विप्लवलाई रहेको तर्क गरे। नख्खु बम बिस्फोटको औपचारिक जिम्मा लिने ओली र निर्देशन दिने लामाको पक्राउ सरकारको शान्ति सुरक्षा कायम गर्ने नियमित प्रक्रिया भएको उनको भनाइ छ।

‘राज्यले शान्ति सुरक्षा र कानूनी राज्य कायम राख्न फौजदारी अभियोग लागेका व्यक्तिलाई कानूनी दायरामा ल्याउनु सामान्य हो,’ सांसद पाण्डे भन्छन्, ‘यो प्रकरणपछि पनि हामी सम्पर्कमै छौं, वातावरण बिग्रिएको छैन्।’

‘सिके राउतसँग जस्तै सप्राइज परिणाम आउन सक्छ’
देश बिखण्डनको नारासहित तराई–मधेशमा संघर्ष गरिरहेका चन्द्रकान्त (सिके) राउतलाई मूलधारको राजनीतिमा ल्याउन पनि सांसद पाण्डेकै वार्ता समितिले काम गरेको थियो। उनले वार्ताका लागि आधिकारिक व्यक्तिको पहिचान गरेर त्यसको जानकारी प्रधानमन्त्री ओलीलाई दिएका थिए। पाण्डेसहितको टिमले काम गर्दा राउत मूलधारको राजनीतिमा प्रवेश गरेका छन्।

‘हामीले वार्ताको वातावरणलाई एउटा चरणमा पुर्याएपछि त्यसको कार्यान्वयन सरकारले गर्ने हो’, उनी भन्छन्।

वार्ताको वातावरणका लागि गृहमन्त्री बादल र गृहसचिव राईसँग सहकार्य भइरहेको उनले बताए।

वार्ताका नाममा धोकाको आशंका
सरकारले २०७५ फागुन २७ मा प्रतिबन्ध लगाउनु अघिसम्म राजनीतिक वार्ता टोली विप्लवसँग नियमित सम्पर्कमा थियो। वार्ताकै लागि टोलीको सिफारिसमा जेलमा रहेका विप्लवका मुख्य नेताहरु पदम राई, उमा भुजेल र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका थिए। विप्लव समूहले २०७५ मंसिर ८ मा काठमाडौंमा भव्य आमसभा समेत गर्यो।

तर विप्लव समूह वार्तामा आएन। यसपटक समेत वार्ताका लागि भन्दै आफ्ना नेता कार्यकर्ता रिहाइलाई विप्लव समूहले पहिलो मागका रुपमा अघि सारेको छ। पुरानो व्यवहारका कारण सरकार यसमा संशकित छ।

प्रतिबन्धपछिको अवस्था
सरकारले २०७५ फागुन २७ मा नेत्रविक्रम चन्द विप्लवका विध्वंस र अतिवादी गतिविधि उपर प्रतिबन्ध लगाएपछि सर्वसाधारण, सुरक्षाकर्मी र विप्लव कार्यकर्ता गरी ८ जनाको मृत्यु भएको छ। प्रतिबन्ध लगाउनु अघि नख्खु बिस्फोटमा सर्वसाधारण सिंगबहादुर गुरुङले ज्यान गुमाएका थिए।

प्रहरी प्रधान कार्यालयकाअनुसार प्रतिबन्धपछि विप्लव समूहका ५ सय ७९ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। यो तथ्यांक फागुन ९ देखि असार २५ सम्मको हो।

प्रहरी मुठभेडमा सर्लाहीमा १ र भोजपुरमा २ जना विप्लवका जिल्ला नेता तथा कार्यकर्ताको मृत्यु भएको छ। यो प्रकरणमा संसदीय समिति र राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गरिरहेका छन्।

भोजपुर प्रहरीका एकजना जवानको मृत्यु भैसकेको छ भने २ जना गम्भीर घाइते छन्। विप्लव समूहका ६ जना कार्यकर्ताको आफैँले बोकेको बम बिस्फोट भएर मृत्यु भएको छ।

प्रतिबन्धपछि प्रहरीले २३ नाल सानाठुला अत्याधुनिका हतियार बरामद गरेको छ। बरामद भएका हतियारमा अमेरिकामा निर्मित एम १६ एटु राईफल, एलएमजी राईफल, एसएलआर तथा थ्री नटथ्री (३०३) राईफल, एसएमजी पिस्तोल, रिभल्वर र घरेलु हतियार छन्। विप्लव समूहबाट ४१७ राउण्ड गोली समेत बरामद भएको छ।

प्रतिबन्धपछि १८ वटा बिस्फोटका घटना र ९५ स्थानमा राखिएका बम सुरक्षाकर्मीले डिस्पोज गरेको छ।

सत्तारुढ नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा लामो कुराकानीका क्रममा सांसद पाण्डेसँग सोधिएको थियो, ‘सबै कुरा सकारात्मक भए वार्ता कहिले हुन्छ त?’

उनले भने, ‘वार्ताबाटै विप्लवजीहरु मूलधार राजनीतिमा आउनु हुनेछ। यो यस्तो प्रक्रिया हो, जुन भोली नै हुन पनि सक्छ। केही समय लाग्न पनि सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .