समाज


शिक्षकको नाममा ‘सुसाइड नोट’ लेखेर विद्यार्थीले गरे आत्महत्या

शिक्षकको नाममा ‘सुसाइड नोट’ लेखेर विद्यार्थीले गरे आत्महत्या

गोकुल जोशी
साउन १२, २०७६ आइतबार १३:४६,

महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्। कलेजको कक्षा १२ व्यवस्थापन संकायमा अध्ययनरत भीमदत्त नगरपालिका भाँसीका सुरज लेखकले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका हुन्।

उनले आत्महत्या गर्नुपूर्व लेखिएको ‘सुसाइड नोट’ मा कलेजका एक जना शिक्षकको नाम समेत इन्गित गरेका छन्। सुरजले ‘सुसाइड नोट’मा आफू मर्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन्। मृतकका परिवारले पनि कलेजका शिक्षकले उनलाई मानसिक तनाब दिने गरेको आरोप लगाएका छन् ।

कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार शुक्रवार कलेज नआएका सुरज र उनका अन्य दुई साथीहरु अभिषेक चन्द र मनिश विष्ट कलेज नजिकैको होटलमा बसेका थिए। सुरज कलेज पोशाकमा थिएनन्, उनको त्यस दिन पेटमा समस्या आएकाले बजार औषधी लिन गएको दाई सागर लेखकले बताए।

कलेज समयमा कलेजको पोशाकमा होटलमा बसिरहेका उनीहरुलाई संयोजक हरिलाल जोशीले समातेर कलेजमा पुर्‍याए। कलेज बिदा भइसकेपछि धेरै अबेरसम्म उनीहरुलाई कलेजमै राखियो। ती तिनै जनालाई धेरैबेर कलेजमा नै पर्खाएर पछि भोलिदेखि नियमित विद्यालायमा आउने लिखित प्रतिबद्धता गराएर छोडियो। यसबीचमा उनीहरुबाट लिखित रुपमा कागजमा ‘औँठा छाप’ गराउने काम मात्रै भएन, उनीहरुको अभिभावकलाई विद्यार्थीको अवस्था बारे जानकारी दिने काम समेत भयो।

मृतक सुरज बाहेक अरुका अभिभावकलाई सम्पर्क भयो र उनीहरुलाई अभिभावकको जिम्मा लगाइयो। तर सुरजका अभिभावकसँग सम्पर्क हुन सकेन। सुरजलाई पनि कागजमा ‘औँठा छाप’ लगाएर छोडियो। पछि उनको अभिभावकसँग सम्पर्क भएपछि सुरजको पछिल्लो अवस्थाबारे जानकारी दिइएको थियो। उनका बुवा गणेश दत्त लेखक जगन्नाथ बहुमुखी क्याम्पस बैतडीका प्राध्यापक (पूर्व–क्याम्पस प्रमुख) हुन्।

‘सुसाइड नोट’ मा औँठाछाप

सुरजको ‘सुसाइड नोट’ को अन्त्यतिर उनले औँठाछाप लगाएका छन्। यसले कलेजमा कागज लगाएको ‘औँठाछाप’ले उनी निकै मानसिक रुपमा बिचलित भएको संकेत दिन्छ।

यो कुरा कलेज परिवारले समेत स्वीकार गरेको छ। ‘सुसाइड नोट’ मा उल्लेख भए बमोजिम सुरज ‘औँठा छाप’ ले निकै तनावमा आएको जस्तो देखिन्छ। कलेजमा लगाएको ‘औँठा छाप’ ले आफूले धेरै गल्ती गरेजस्तो तथा बुवा आमाको बदनामी भएजस्तो संकेत दिने खालको ‘सुसाइट नोट’ छ।

उनले सुसाइट नोटमा लेखेका छन्, ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब ग¥यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै ......।’

संयोजक बर्खास्त

कलेजका संयोजक हरिलाल जोशी बर्खास्त भएका छन्। कलेज व्यवस्थापन समितिको बैठकले उनलाई शिक्षक तथा संयोजकबाट हटाइएको कलेजका प्रिन्सिपल श्यामसिंह मौनीले बताए। ‘सुसाइड नोट’ मा उनको नाम उल्लेख भएपश्चात् सिंगो विद्यालयको ओजमा नै प्रश्न उठ्ने भएकाले व्यवस्थापन समितिको निर्णय बमोजिम हरिलाल जोशीलाई आइतबारदेखि सेवाबाट हटाइएको हो।

किटानी जाहेरी

मृतक सुरजका बुवा गणेश दत्त लेखकले ‘सुसाइड नोटमा’ मा उल्लेख भएको नाम विरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएको बताए। घटनाको सत्य, तथ्य छानबिन गरी दोषिमाथी कारबाहीको माग गरिएको छ। ‘सुसाइड नोटमा’ मा उल्लेखित ‘मृत्युको कारण’ हरिलाल जोशी विरुद्ध दिइएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

भाग्य बिग्रेर यस्तो भयो: हरिलाल

निलम्बित शिक्षक हरिलाल जोशीले आफूले प्रशासनिक अभिभावकत्व पुरा गरेको बताएका छन्। तर भाग्गले साथ नदिँदा यस्तो अवस्था आएको उनको भनाइ छ।

‘आफ्नै छोरा सरह मानेर प्रशासनिक अभिभावकत्व बहन गर्न खाजेको थिएँ, भाग्य बिग्रेको बेला के–के हुन्छ थाहा छैन।’ उनले भने, ‘मानसिक तनाव दिने कुनै मानसिकता थिएन, यसो हुन्छ भनेर के थाहा? भाग्य बिग्रेर यस्तो भयो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .