राजनीति


यस्तो छ भारतीय सेनाप्रमुख नरवणेको भ्रमण तालिका : सोल्टीमा बास, पशुपति दर्शन

यस्तो छ भारतीय सेनाप्रमुख नरवणेको भ्रमण तालिका : सोल्टीमा बास, पशुपति दर्शन

उजिर कार्की
कात्तिक १८, २०७७ मंगलबार १२:३६,

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे बुधबार अपरान्ह नेपाल आइपुग्ने भएका छन्। भारतीय सेनाको विशेष विमान मार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आउन लागेका हुन्।

नरवणेको नेपाल भ्रमणलाई लिएर मंगलबार दिउँसो सुरक्षा निकायबीच छलफल भएको छ। बुधबार सेनाध्यक्ष नरवणेको औपचारिक कार्यक्रम नरहेपनि होटल सोल्टीमा इन भएपछि उनी साँझ पशुपति दर्शनमा जाने सैनिक श्रोतले जनाएको छ।

बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेर वीरहरुप्रति सम्मान अर्पण गर्नेछन्। त्यसपछि जंगि अड्डामा आएर निरीक्षण गर्ने कार्यक्रम रहेको छ। निरीक्षण सकिएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल हुनेछ।

प्रधानसेनापतिसँगको छलफल लगत्तै नेपाली सेनाका उच्च अधिकारीहरुसँग छोटो भेटाघाटको कार्यक्रम रहेको छ। भेटघाट सम्पन्न भएपछि भारतीय सेनाको तर्फबाट नरवणेले नेपाली सेनालाई सहयोग स्वरुप चारवटा एम्बुलेन्स र स्वास्थ्य सामग्री प्रदान गर्नेछन्। एउटा फिल्ड अस्पताल बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेसँगै बिहीबार बिहानको कार्यक्रम सम्पन्न हुने नेपाली सेनाको एक उच्च अधिकारीले बताए।

त्यसपछि नेपालस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाट कार्यक्रम गर्नेछन्। बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ। उनको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम पनि यही हो।

त्यसलगतै सितल निवासमै राष्ट्रपति भण्डारीसँग शिस्टाचार भेटघाटको कार्यक्रम रहेको छ।

सितल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधानसेनापति थापाले जंगि अड्डामा रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजसँगै बिहीबारको कार्यक्रम सम्पन्न हुनेछ।

शुक्रबार बिहान उनले आर्मीकमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनपछि दूतावासमा फर्किएर केही भेटघाट गर्नेछन्।

शुक्रबार दिउँसो रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सोहीदिन भारततर्फ प्रस्थान गर्ने नरवणेको कार्यतालिका रहेको छ।

यसबाहेक मौसम अनुकुल भएमा माउण्टेन फ्लाइट गर्ने समेत तयारी नेपाली सेनाले गरेको छ। नरवणेको भ्रमणकाबेला सुरक्षा व्यवस्था कडा बनाइएको छ। सुरक्षाको कारण देखाउँदै नेपाली सेनाले नरवणे बस्ने होटल तथा केही अनौपचारिक कार्यक्रम खुलाउन नचाहेपनि उनी बुधबार र बिहीबारको रात सोल्टीमा बस्ने बुझिएको छ।

नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र मिचेर भारतले सडक निर्माण गरेपछि नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ। नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि नरवणेले दिएको अभिव्यक्तिको नेपालमा बिरोध भइरहेको छ।

यसअघि नै तय भएको उनको नेपाल भ्रमण समेत सोही कारण रोकिएको थियो।

भारतीय सेनाध्यक्ष नरवणे आउनुअघि नेपाली सेनाले सार्वजनिक गर्‍यो यस्तो भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad