नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद मीन विश्वकर्माको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।
कोरोना संक्रमण र निमोनिया समेत भएपछि चारदिनदेखि ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका नेता विश्वकर्माको आज मंगलबार दिउँसो होस खुलेको, फोक्सोमा रहेको इन्फेक्सन समेत निको हुने क्रममा रहेको उपचारमा संलग्न डाक्टरको भनाई उद्धृत गर्दै उनका सहयोगी आकाश उप्रेतीले बताए।
‘उहाँको आज दिउँसो होस आएको छ,’ उप्रेतीले नेपालखबरसँग भने, ‘पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको डाक्टरले बताउनुभयो।’
डाक्टरले फोक्सोले काम गर्ने क्षमतामा पनि बृद्धि हुँदै गएको बताएका छन्। ‘उहाँले हात हल्लाएर टाउको पनि हल्लाउनु भएछ, उहाँको निमोनिया समेत निको हुँदै गएको छ,’ उप्रेतीले भने।
कोरोना संक्रमण भएर कात्तिक २ गतेदेखि घरमै आइसोलेसनमा बसेका पूर्वमन्त्री विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १० गते वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।
त्यसपछि उनलाई कात्तिक ११ गते साँझ ग्राण्डी लगेर आईसीयूमा राखी उपचार गरिएकोमा निमोनिया निको नभएपछि चारदिनअघि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

प्रतिक्रिया