नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बयोधा अस्पतालमा पुगेर राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानको स्वास्थ्य अवस्थाको विषयमा जानकारी दिएका छन्।
पासवान पक्षघातबाट गम्भीर बिरामी परेका छन्। उनको तीन दिनदेखि बल्खुस्थित बयोधा अस्पतालको आइसियुमा उपचार भइरहेको छ।
राष्ट्रियसभाका सांसद समेत रहेका नेता श्रेष्ठले अस्पतालमै पुगेर पासवानको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाको विषयमा चिकित्सकहरुसँग जानकारी दिएका हुन्। उनले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई आग्रहसमेत गरेका छन्।
शनिबार दिउँसो सर्लाहीमा एक्कासि बेहोस भएपछि पासवानलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनी नेकपाबाट निर्वाचित राष्ट्रियसभाका सांसद हुन्।
पासवानको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलघ्न चिकित्सकले बताएका छन्। चिकित्सकले उनको ब्रेनको नसामा रगत जमेको कारण शरीरका देब्रे अंगमा प्यारालाइसिसको समस्या देखिएको जानकारी दिएका छन्।
नसामा जमेको रगत औषधिले नफाटे अप्रेसन गर्नुपर्ने चिकित्सकले बताएका छन्।

प्रतिक्रिया