नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको सम्पर्क कार्यालयमा विस्तारित बैठक बोलाएका छन्।
खड्काले काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार दिउँसो २ बजे विस्तारित बैठक बोलाएको इतर पक्षका नेताहरूले बताएका छन्। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले चुनदेवीमा सम्पर्क कार्यालय खोलेका छन्।
विस्तार बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौँमा उपलब्ध जिल्ला सभापतिलाई बोलाइएको छ। देउवा पक्षका एक नेताका अनुसार, विस्तारित बैठकले राष्ट्रिय भेलाको तिथि मिति तय गर्नेछ।
यसअघि शुक्रबार खड्का निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो। बैठकमा नेताहरू डा शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, रमेश लेखक, डा. प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायत सहभागी थिए। बैठकले असार भित्रै राष्ट्रिय भेला बोलाउने सहमति गरेको थियो।
बैठकमा कांग्रेस सभापति गगन थापालगायत नेताहरूसँग पार्टी एकताका लागि भएका छलफलबारे ‘ब्रिफिङ’ गरिएको थियो। कांग्रेस मिलाउनका लागि संस्थापन पक्षका नेताहरू गम्भीर नभएको निष्कर्ष निकालिएको थियो।
अगाडि कसरी बढ्ने भन्ने विषय राष्ट्रिय भेलाबाट टुंगाउने सहमति बनेको थियो। त्यसका आधारमा राष्ट्रिय भेलाको मिति तोक्न खड्काले विस्तारित बैठक बोलाएको नेताहरूले बताएका छन्।
Shares

प्रतिक्रिया