राजनीति


कर्णाली मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने १८ सांसदको समूहमा विभाजन

कर्णाली मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गर्ने १८ सांसदको समूहमा विभाजन

सागर न्यौपाने
असोज २७, २०७७ मंगलबार ७:२,

कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाही हटाउन ल्याइएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने १८ जनाको समूहमा विभाजन आएको छ।

एक सांसदका अनुसार हस्ताक्षर बुझाउनेमध्ये ६ जनाले हस्ताक्षर फिर्ता गर्ने बताएका छन्।

‘हामीले हस्ताक्षर गर्ने केही साथीहरुसँग छलफल गरेका थियौं, त्यसमध्येमा ६ जनाले शाही हटाउन नहुने पक्षमा उभिने बताउनुभएको छ, त्यसमा अरु तीनजना साथीहरु पनि थपिने कुरा आएको छ,’ उनले भने।

मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन भन्दै आइतबार दिउँसो १८ जना सांसदले दलको कार्यालयमा हस्ताक्षर दर्ता गरेका थिए।

प्रमुख सचेतक गुलावजंग शाहले आज मंगलबार दिउँसो १ बजे दलको बैठक राखेका थिए तर, मुख्यमन्त्री शाहीले उनलाई हटाएर नयाँ प्रमुख सचेतकमा सीताकुमारी नेपालीलाई नियुक्त गरेका छन्।

नयाँ प्रमुख सचेतक नेपालीले कात्तिक ७ गतेलाई बैठक ताेकेकी छिन्।

शाह पक्षले भने आजको बैठक राख्ने अडान लिएको छ।

शाहले नेपालखबरसँग भने, ‘बैठक राख्ने विषयमै हामी छलफलमा छौं, पार्टी केन्द्रसँग पनि कुरा भइरहेको छ।’

हस्ताक्षर गर्ने समूहमा विभाजन आएपछि सो प्रस्ताव समेत असफल हुने अर्का एक नेताले बताए।

‘अविश्वासको प्रस्ताव ल्याउने पक्ष अल्पमतमा पर्यो त्यो स्वतः असफल भयो,’ ती नेताको दाबी छ।

हस्ताक्षर गर्ने मध्येका एक सांसदका अनुसार अहिले अन्योलको अवस्था छ।

‘हामी बैठकमा जाने तयारीमा थियौं,’ ती सांसदको भनाइ छ, ‘तर आज विहान नेताहरु बसेर केही सहमति गरेको जस्तो छ, तर हामीकहाँ आइपुगेको छैन। आएपछि के गर्ने सोच्नेछौं।’

पूर्वमाओवादीबाट हस्ताक्षर गर्ने तीनमध्ये दुई जनाले बैठकमा कुरा राखेर निस्कने र अगाडि नबढ्ने भनेर बैठकमा कुरा राखेको बैठकस्थलमा रहेका अर्का सांसदले जानकारी दिए।

‘उहाँहरुले आजको बैठकमा सहभागी भएर आफ्ना कुरा राखेर यसपछिका गतिविधिमा सहभागी नहुने बताउनुभएको छ,’ ती सांसदले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad