राजनीति


माधव नेपालको प्रश्नः सीको भ्रमणबाट नेपालले कति लाभ लिनसक्यो?

माधव नेपालको प्रश्नः सीको भ्रमणबाट नेपालले कति लाभ लिनसक्यो?

नेपालखबर
असोज २७, २०७७ मंगलबार ४:२३,

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेको एक वर्ष पुरा भएको अवसरमा नेपाल–चाइना मिडिया फोरमले प्रकाशित गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चिनफिङ्स नेपाल भिजिटः अ पिक्टोरियल गाइड’ को सोमबार पूर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले सार्वजानिक गरेका छन्।

सो समारोहमा पूर्वप्रधानमन्त्री नेपालले नेपाल–चीन सम्बन्ध सधैं हार्दिक र सुमधुर रहेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै कसिलो र घनिभूत बनाउनु पर्ने बताए।

चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कति लाभ लिन सक्यो भन्ने समिक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै नेपालले भने, ‘कागजीरुपमा त लाभ लियौं तर व्यवहारिकरुपमा कति लाभ लिनसक्यौ? बेल्ट एण्ड रोड इनिसियटिभबाट कति लाभ लिन सक्यौं? यसको समिक्षा गर्दै भएका सहमति कार्यन्वयनमा जोड दिनुपर्छ।’

नेपाल चीनको विश्वासिलो मित्र भएको भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामी चीनसँग अझ विश्वासिलो र साझेदार देशकारुपमा अघि बढ्न चाहन्छौं।’

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवका रुपमा सी चिनफिङले चीनको नेतृत्व सम्हालेपछि बेल्ट एण्ड रोड सम्बन्धी नयाँ सिल्क रोडको अवधारणा अगाडि सारेको उल्लेख गर्दै नेपालले भने, ‘पुरानो सिल्क रोडले जसरी एसिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गर्यो। सी आएपछि यो अवधारणालाई अझ गति प्रदान गर्नुभयो। सिंगो मानवजातीको साझा भविष्यको परिकल्पना गर्दै सबैलाई आर्थिकरुपले लाभ हुने जुन प्रस्ताव अगाडि सार्नुभयो, त्यो अत्यन्तै सराहनीय छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालले सीमासम्बन्धी सन्धी, पहिलोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गर्नुभएको चीन भ्रमणमा भएको व्यापार तथा यातायातसम्बन्धी सम्झौता, बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालको हस्ताक्षर, राष्ट्रपति विद्या भण्डारीले गर्नुभएको चीन भ्रमण र चीनका राष्ट्रपतिबाट २३ वर्षपछि भएको नेपाल भ्रमण दुई देशबीचको सम्बन्धमा कोशेढुंगा भएको उल्लेख गरे।

उनले भने, ‘विश्वमा उदयीमान देश चीनजस्तो छिमेकी मुलुकबाट लाभ लिन सकेमा नेपालको समृद्धिको लक्ष्य पुरा हुनसक्छ र नेपाल पनि चीनसँगसँगै विकास र समृद्धिको यात्रामा अगाडी बढ्न सक्छ।’

विश्वमै ठूलो व्यापार साझेदार चीन जस्तो मुलुकको प्रभावशाली नेताको भ्रमण नेपालका लागि तात्वीक र आधारभूतरुपमै भिन्न र विशेष रहेको उनले बताए। त्यतिमात्र नभएर उक्त भ्रमण विश्व परिस्थिति र हाम्रो आन्तरिक कारणले पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल–चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चिनियाँ राष्ट्रपतिबाट २३ वर्षपछि भएको भ्रमण नेपालका लागि विशेष रहेको र यसले द’ई पक्षीय सम्बन्धमा विशेष महत्व राख्ने बताए।

सोमबार सार्वजानिक गरिएको पुस्तक ‘प्रेसिडेण्ट सी चिनफिङ्स नेपाल भिजिटः अ पिक्टोरियल गाइड’ मा चिनियाँ राष्ट्रपति सी, नेपालका पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजाल, सन योङका लेखहरु समावेश छन्।

साथै, पुस्तकमा दुई देशबीच भएका सम्झौताहरु, सी भ्रमणका तस्बिर र त्यसबेला नेपाली छापा माध्यममा प्रकाशित सामाग्रीहरु समावेश गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad