राजनीति


प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्तावमा आज मतदान हुँदै, विपक्षमा उभिन कांग्रेसको ह्विप

प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्तावमा आज मतदान हुँदै, विपक्षमा उभिन कांग्रेसको ह्विप

प्रकाश न्यौपाने
असोज २०, २०७७ मंगलबार ४:१०,

प्रदेश ५ को राजधानी दाङको देउखुरी सार्ने प्रस्तावका विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।

मंगलबार बस्ने प्रदेश सभाको बैठकमा राजधानी रहने स्थान र त्यसको नामबारे मतदान हुँदै छ।

प्रदेश सरकारले संसदमा पेस गरेको उक्त प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय संसदीय दलले गरेको कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।

प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो। प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको छ। नामबारे भने कांग्रेसको असहमति नरहेको कनौडियाले जनाए।

प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा पेस गरेपछि सोमबार त्यसबारे ७ सांसदले धारणा राखिसकेका छन्।

मन्त्री केसीले सांसदले उठाएका प्रश्नको जवाफ सोमबारै दिइसकेका छन्। यसै क्रममा हिजो कांग्रेस र समाजवादीका पार्टीका सांसदले प्रदेशसभामा कुर्सी, टेबल र माइक तोडफोड समेत गरेका थिए।

सभामुख पूर्णबहादुर घर्तीले प्रस्तावका संशोधन हाल्न सांसदलाई हिजै १८ घण्टाको समय दिएका थिए।

आज दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामबारे मतदान हुने कार्यतालिका संसद सचिवालयले बनाएको बुझिएको छ।

प्रदेश राजधानी देउखुरीमा सार्ने निर्णयविरुद्ध सत्तारूढ नेकपाकै १४ सांसदले नोटअफ डिसेन्ट लेखेका थिए। तर पनि नेकपाले आफ्ना सांसदलाई प्रस्तावका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

सोमबार संसदीय कार्यालयमा बसेको बैठकमा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावित राजधानी र नामबारे मतदान गर्न ह्वीप जारी गरेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।

नेकपाले रुपन्देहीलाई आर्थिक तथा पर्यटकीय र देउखुरी क्षेत्रलाई प्रशासनिक राजधानी बनाउने भन्दै सांसदहरुलाई आश्वस्त पारेको छ। नेकपाले पक्षमा ह्वीप जारी गरेपछि काँग्रेसले पनि गरेको हो।

कांग्रेसले निर्णय गरे पनि कांग्रेसका केही सांसदहरुले ह्विप उल्लंघन गरेर मतदान गर्ने सम्भावना रहेको बताइन्छ। दाङ, बाँके र बर्दियाका कांग्रेस सांसदले पार्टीले ह्विप लगाए त्यसविरुद्ध जाने चेतावनी दिइरहेका छन्।

यी तीन जिल्लामा कांग्रेसका ६ सांसद छन् र उनीहरू दाङ राजधानी हुनुपर्ने पक्षमा छन्।

प्रदेशसभामा सभामुख र उपसभामुख गरी नेकपाका ६१ सांसद छन्। कांग्रेसका १९, जनता समाजवादीका ६ र जनमोर्चाका १ जना सांसद छन्। प्रदेशको नाम र राजधानी तोक्न दुईतिहाइ मत चाहिन्छ।

त्यो मत सत्तारुढ नेकपा एक्लैको काफी छ। ५८ सांसदले पक्षमा मतदान गरे भने नाम र राजधानीका पक्षमा दुईतिहाइ पुग्छ। संविधानले प्रदेश सभाका कूल सदस्यको दुइतिहाइ मत भएमा प्रदेश राजधानी र नामाकरण गर्न सक्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .