साझा पार्टीले २२ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई उपेक्षा गर्दै सरकारले उनलाई मार्न खोजेको हो? भन्दै प्रश्न गरेको छ।
एक विज्ञप्ति जारी गर्दै अनशनका क्रममा उनको स्वास्थ्य खतरनाकरूपमा नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासिनताबारे साझाले गम्भीर चिन्ता व्यक्त गरेको छ।
साझाले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र केसी ६ पटक अनशन बस्नुपरेको, यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गर्दा वार्ता टोलीसम्म गठन नगरेकोमा चिन्ता व्यक्त गरेको छ।
केपी ओली सरकारले डा केसीप्रति 'कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस्' भनेझैँ रवैया प्रस्तुत गरिरहेको साझाको बुझाई छ।
'के सरकारले डा केसीलाई मार्नै खोजेको हो? पछिल्लाे पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुन: अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ?' साझाले विज्ञप्तिमार्फत प्रश्न गरेको छ।
डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा रहेको साझाको बुझाई छ। तर यिनै दलले पटक पटक सरकारकाे नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बना भएको पार्टीले उल्लेख गरेको छ।
'डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन्? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपऱ्यो। होइन भने विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो,' साझाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया