प्रशासनले बुटवल क्षेत्रको निषेधाज्ञा जारी गरे पनि व्यावसायिक संघ/संस्थाले विरोध प्रदर्शन गरेका छन् भने नेपाली कांग्रेस रुपन्देहीले जिल्ला बन्दको आह्वान गरेको छ।
व्यवसायीले संयुक्त संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन्। प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभामा शुक्रबार प्रस्ताव पेस गरेपछि उद्योगी व्यवसायी र रुपन्देही कांग्रेस आन्दोलित भएको हो।
बन्दका कारण जिल्लाका मुख्य सडकमा सार्वजनिक यातायात चलेका छैनन्। निजी सवारी र भित्री सडकमा छिटफुट सवारी भने चलेका छन्। आज कांग्रेससहितका व्यावसायिक संघ/संस्थाले प्रदर्शन गरेका हुन्।
बुटवलमा भएको विरोध प्रदर्शनमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले कुनै पनि हालतमा प्रदेश राजधानी सार्न नदिने बताए। प्रस्ताव फिर्ता नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्ने उनले जनाए। प्रदर्शनकारीले ‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन’लगायतका नारा लगाएका थिए।

बुटवलमा र्याली र प्रदर्शन सुरु भएसँगै बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शनकारीले बुटवलका ठाउँ–ठाउँमा टायर बालेर राजधानी सार्ने निर्णयको विरोध गरेका छन्।
राजधानी सार्ने निर्णयविरुद्ध प्रदर्शन सुरु भएपछि रुपन्देहीको सुरक्षा अवस्था कडा पारिएको छ। सैनामैना, देवदह लगायतका क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही क्षेत्रमा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।
निषेधित क्षेत्रमा र्याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ। प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।

यस्तै, मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जनाभन्दा धेरै भेला हुन पाइनेछैन। यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न रोक लगाइएको छ।
निषेधाज्ञाको अवज्ञा गर्दै काँग्रेस र व्यवसायीले प्रदर्शन गरिरहेका हुन्।
प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्तावमा सहमति जुटाउन नेकपा संसदीय दलले आइतबार मध्याह्न १२ बजेलाई सर्वदलीय बैठक डाकेको छ।

बैठकमा कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य सहभागी हुने नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए। सर्वदलीय बैठक डाकेर छलफल गराउन निर्देशन दिएर मुख्यमन्त्री शंकर पोखरेल भने शनिबार नै काठमाडौं पुगेका छन् ।
प्रदेशसभामा विपक्षी दलका नेता कांग्रेसका वीरेन्द्रप्रसाद कनौडियाले छलफलमा सहभागी भएर आफ्ना विचार व्यक्त गर्ने र विरोध जारी राख्ने बताए। बुटवलमा शनिबार कांग्रेसका प्रदेश सांसदसहित बसेको बैठकले प्रदेश सभा घेराउ गर्ने, रुपन्देही बन्द गर्ने र राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको थियो।

सोहीअनुसार शनिबार राँके जुलुस गरिएको थियो। शनिबार बुटवल उद्योग वाणिज्य संघमा बसेको रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले राजधानी सार्ने निर्णयको बिरोध गर्दै सरकारलाई फिर्ता गर्न दवाव सिर्जना गर्नकालागि संघर्ष समिति समेत गठन गरेको थियो। बैठकले बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको हो।
बैठकको निर्णयअनुसार आज विरोध ¥याली प्रदर्शन गरिएको छ । यस्तै, अहिले दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ। सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अगाडि प्रदर्शन गर्ने र्काक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले जानकारी दिए।

यस्तै, व्यवसायीले सोमबार नै प्रदेश पाँचमा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न आह्वान गरेको छ । त्यस्तै संघसंस्थाहरुले आह्वान गरेका विरोधका कार्यक्रममा साथ सहयोग गर्नका लागि समेत उद्योगी व्यवसायी तथा आम सर्वसाधारणलाई आह्वान गरिएको छ । रुपन्देहीका स्थानीय तहहरुले पनि राजधानी सार्ने निर्णयमा पुनर्विचार गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया