राजनीति


वामदेवको पक्षबाट बहस गर्दै १३ वरिष्ठ वकिल, मुद्दा जित्लान् त?

वामदेवको पक्षबाट बहस गर्दै १३ वरिष्ठ वकिल, मुद्दा जित्लान् त?

सागर न्यौपाने
असोज १३, २०७७ मंगलबार १६:५,

राष्ट्रिय सभामा नियुक्तिसम्बन्धी मुद्दामा नेकपाका उपाध्यक्ष वामदेव गौतमको पक्षबाट नेपाल बार एसोसियसनका पूर्वअध्यक्षसहित वरिष्ठ र चर्चित अधिवक्ताहरुले बहस गर्ने भएका छन्।

राष्ट्रियसभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि बुधबार बहस हुँदैछ। गौतमका पक्षबाट १३ जना चर्चित अधिवक्ताले बहस गर्ने तयारी भएको प्रा.डा. युवराज संग्रौलाले जानकारी दिए।

वरिष्ठ अधिवक्ता संग्रौलाका अनुसार वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य लगायतकाले बहस गर्ने छन्।

केसी नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष हुन्। यस्तै वैद्य, खड्का र ज्ञवाली संविधानको विषयमा राम्रो बहस गर्ने वरिष्ठ अधिवक्ताका रुपमा चिनिन्छन्।

यसका साथै गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने सरकार र सोको सिफारिस गर्ने पार्टी नेकपाले समेत छुट्टै अधिवक्ता यो मुद्दाको बहसमा खटाउने संग्रौलाले जानकारी दिए। सरकारी कार्यालयका तर्फबाट महान्याधिवक्ताको छुट्टै टोलीले गौतमको पक्षमा बहस गर्नेछन्।

‘समय कति दिन्छन्, हाम्रो टीममा १२, १३ जना सिनियर एड्भोकेट हुनुहुन्छ, ’ संग्रौलाले भने, ‘महान्यायाधिवक्ताको कार्यालय र नेकपा समेत विपक्षीमा रहेकाले पार्टीबाट खटाइएका अधिवक्ताले पनि बहस गर्नेछन्।’

बहस भोलि नै सकिने सम्भावना भएको उनले बताए।

मुद्दा दायर गर्ने दिनेश त्रिपाठीका पक्षबाट पनि वरिष्ठ अधिवक्ता हरि उप्रेतीसहित ९ भन्दा बढी वकिलले बहस गर्नेछन्।

भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो। असोज १ गते उनले पद तथा गोपनीयताको शपथ लिए।

मन्त्री बनाउने चर्चा चल्न थालेपछि असोज ५ गते त्रिपाठीले सो नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। ७ गते सर्वोच्चका न्यायाधीस आनन्दमोहन भट्टराईको इजलासले सो नियुक्तिलाई यथास्थितिमा राख्न र मुद्दाको किनारा नलागेसम्म थप अधिकार नदिन आदेश दिएको थियो।

सर्वोच्चले बहसका लागि दुवै पक्षलाई असोज १४ गतेको समय दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .