समाज


कम्पनीले सम्झौता गर्दैमा नेपालमा खोप आउँदैनः मन्त्रालय, कम्पनीबारे थाहै छैनः औषधि व्यवसायी

कम्पनीले सम्झौता गर्दैमा नेपालमा खोप आउँदैनः मन्त्रालय, कम्पनीबारे थाहै छैनः औषधि व्यवसायी

मणि दाहाल
असोज १३, २०७७ मंगलबार १६:३५,

मंगलबार ट्रिनिटी फर्मास्युटिकल्स नामक कम्पनीले रुसबाट साढे २ करोड डोज कोरोनाविरुद्धको खोप ल्याउने सम्झौता गरेको समाचार प्रकाशित भयो। तर, स्वास्थ्य मन्त्रालयले सम्झौताबारे केही थाहा नभएको जनाउँदै कम्पनीले सम्झौता गर्दैमा नेपालमा खोप नआउने स्पष्ट पारेको छ।

त्यस्तै औषधि व्यवसायीहरुले ट्रिनिटी फर्मास्युटिकल्स र त्यसका सञ्चालकबारे आफूहरुलाई केही थाहा नभएको बताएका छन्।

रुसले विकास गरेको ‘स्पुतनिक भी’ नामक खोप नेपाली बजारमा ल्याउने भन्दै सो कम्पनीले उत्पादकसँग सम्झौता गरेको छ। जसलाई अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले समेत चासोका साथ समाचार प्रकाशित गरेका छन्।

तर, नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले पनि ट्रिनिटी फर्मास्युटिकल्सबारे आफूहरुलाई केही थाहा नभएको बताए।

‘यो नामको कम्पनीको आधिकारिक व्यक्ति को हो, यसले अहिले नेपालमा कति मात्रामा व्यवसाय सञ्चालन गरिरहेको छ, मलाई थाहा नै छैन,’ उनले भने, ‘सोधिखोजी गर्दा पनि मैले पत्ता लगाउन सकिनँ। सायद नयाँ व्यक्ति हुनुपर्छ।’

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कुनै कम्पनीले बजार ओगट्न आपसी सम्झौता गरेको हुनसक्ने आशंका गरे।

‘भ्याक्सिन ल्याउन औषधि व्यवस्था विभागको अनुमति चाहिन्छ। विभागसँग स्वीकृतिका लागि पत्र आए स्वास्थ्य मन्त्रालयमा छलफल हुन्छ,’ कार्कीले नेपालखबरसँग भने ‘हालसम्म कुनै कम्पनीले पनि नेपालमा भ्याक्सिन ल्याउने कुरा मन्त्रालयसँग गरेको छैन। कम्पनीहरुबीच आपसी सम्झौता हुँदैमा नेपालमा सोझै भ्याक्सिन आउँदैन।’

नेपालले खोपको तेस्रो चरणको परीक्षणका लागि चासो देखाए पनि त्यसमा अहिलेसम्म कुनै पनि कम्पनीले औपचारिक प्रस्ताव राखेका छैनन्। खोप परीक्षण गर्दा अनुमति लिनुपर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले परीक्षणका लागि कुनै पनि कम्पनीबाट औपचारिक प्रस्ताव नआएको बताए।

‘भ्याक्सिनका विषयमा भएको सम्झौताको विषयमा सञ्चार माध्यमबाट सुनेको हो। त्यसबारे हामीलाई कुनै प्रकारको परीक्षणका लागि कसैले पनि सम्पर्क गरेका छैनन्,’ ज्ञवालीले नेपालखबरसँग भने।

कोरोनाका नौ वटा भ्याक्सिन अहिले परीक्षणको अन्तिम चरणमा छन्। जसमध्ये एक रुसको मालागेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको खोप पनि हो।

औषधि उत्पादन गर्ने कम्पनीको वेबसाइटमा राखिएको जानकारीअनुसार ट्रिनिटीका निर्देशक किशोर अधिकारीले नेपाल सरकारले स्वीकृति दिए खोप नेपाल ल्याउने बताएका छन्।

रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले कोरोना विरुद्धको खोप घोषणा गरेलगत्तै नेपालस्थित रुसी राजदूत अलेक्सेइ नोविकोभको सक्रियता भने बढेको थियो।

राजदूत नोविकोभले भदौदेखि नै नेपालका शीर्ष नेताहरुसँग भेटघाट गरी रुसले विकास गरेको कोरोना खोप नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको जानकारी गराएका थिए।

राजदूत नोविकोभले भदौ २ गते नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भएको भेटवार्तामा पनि यस्तो धारणा राखेका थिए।

खोपको विषयमा जानकार त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजीका सहप्राध्यापक प्रकाश घिमिरले अन्तिम चरणको परीक्षणको परिणाम सार्वजनिक नहुँदै कुन खोप उपयुक्त हुन्छ, भन्न नसकिने बताए।

‘परीक्षणमा रहेका नौ वटैको सम्भावना उत्तिकै हुन्छ। कसको चाँडो आउँछ भन्ने सक्ने अवस्था हुँदैन,’ घिमिरेले भने, ‘सम्झौता भएको विषयलाई जसरी प्रचार भएको छ। त्यो मार्केटिङको एउटा पाटो पनि हो।’

घिमिरेले बृहत् अध्ययनपछि मात्रै खोप ल्याउनुपर्ने बताए।

‘भ्याक्सिन ल्याउन अघि परीक्षणबाट आएको डेटा र त्यसलाई कतिवटा देशले आफ्नोमा प्रयोग गर्नस्वीकृति दिएको छ भनेर विस्तृत रुपमा जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ,’ घिमिरेले भने।

खोप मानिसमा तीन चरणमा परीक्षण गरिन्छ। पहिलो चरणमा सानो संख्यामा खोप सुरक्षित छ कि छैन र त्यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता शरीरमा उत्पादन गर्छ कि गर्दैन भनेर हेरिन्छ।

दोस्रो चरणमा सयौँको संख्यामा परीक्षण गर्ने गरिन्छ। यो चरणमा सुरक्षा र कति डोज आवश्यक पर्छ भनेर निर्धारण गरिन्छ।

तेस्रो चरणमा भने हजारौँको संख्यामा यसको परीक्षण गरिन्छ। जसमासबै क्षेत्रका मानिसमा त्यसको प्रभावकारिता छ कि छैन भनेर हेरिन्छ।

याे पनि: 

‘ट्रिनिटीले रुसबाट कोरोना भ्याक्सिन ल्याउनेबारे सरकारलाई जानकारी छैन’

रुसबाट २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता

रसियन राजदूत भन्छन् : रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई छिट्टै दिन तयार छौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .