राजनीति


डा केसीको स्वास्थ्य अवस्थाबारे मानवअधिकार आयोगको चासो

डा केसीको स्वास्थ्य अवस्थाबारे मानवअधिकार आयोगको चासो

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ९:३७,

राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ।

आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै डा. कसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ।

चिकित्सा शिक्षा सुधारका लागि सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयनको माग राखी जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि केसीले अनशन थालेका हुन्।

डा केसीको जीवन रक्षाका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघलगायत विभिन्न संघ संस्थाले आयोगमा ज्ञापनपत्र पेश गरेकोप्रति पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको र पटक–पटकको अनशनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले संक्रमणको उच्च जोखिम रहेको अनुगमनका क्रममा बुझिएको आयोगले जनाएको छ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वाग्मतीले अनशनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको जनाएकाे छ।

साथै आयाेगले आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोगले डा. केसीसँग आग्रह गरेको छ।

स्वास्थ्य अवस्था बिग्रिँदै गएकाले अनशनको नवौँ दिन डा केसीलाई नेपालगञ्ज हुँदै काठामाडौँ ल्याईएको थियो। त्यस क्रममा उनलाई प्रहरीले जवर्जस्ती वीर अस्पतालस्थित ट्रमा सेन्टरमा पुर्याएको भएपनि हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad