विवेकशील नेपाली दलले अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीसँग तत्काल वार्ता सुरु गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी विवेकशीलले डा. केसीका माग पुरा गरी जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको हो।
विगतमा सरकारसँग भएका सहमतिहरु इमान्दारिताका साथ पालना नभएको अवस्थामा डा. केसीले १९ औँ सत्याग्रह सुरु गरेका उल्लेख गर्दै विज्ञप्तिमा सहमति भएका मागहरु कार्वान्वयन नगरिनु र सोका लागि फेरि सत्याग्रह गर्ने अवस्था सरकारी पक्षबाट सिर्जना गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
१९औँ सत्याग्रहको क्रममा अनसनरत जुम्लाको एक मन्दिरबाट मध्यरातमा जबरजस्ती रूपमा प्रहरीले उठाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठान पुर्याएको र जुम्लाबाट काठमाडौँ ल्याउने क्रममा काठमाडौँ विमानस्थल बाहिरबाट प्रहरी प्रशासनले डा. केसीमाथि बल प्रयोग गर्दै जबर्जस्ती ट्रमा सेन्टरमा लगिनु खेदजनक व्यवहार भएको विवेकशीलले जनाएको छ।
डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि २०६९ सालदेखि अहिलेसम्म १९औँ पटक सत्याग्रह बसिसकेका छन्। १२ दिनदेखि जुम्लामा १९ औँ सत्याग्रह सुरु गरेका केसी अहिले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।
Shares

प्रतिक्रिया