राजनीति


लडाकु ड्रोन बेच्न अमेरिका र चीनबीच यस्तो प्रतिस्पर्धा

लडाकु ड्रोन बेच्न अमेरिका र चीनबीच यस्तो प्रतिस्पर्धा

नेपालखबर
असोज ४, २०७७ आइतबार १२:४,

इजरायलसँग सम्बन्ध ‘सामान्यीकरण’ गरेपछि युनाइटेड अरब इमिरेट्सलाई अमेरिकाले अत्याधुनिक हतियार प्रणाली बेच्ने निर्णय लिएको छ।

यूएईसँग यसअघिदेखि नै दर्जनौँ चिनियाँ सशस्त्र ड्रोन अर्थात् अनम्यान्ड एरियल भेइकल्स (यूएभी) छ। फेरि किन उसले अमेरिकी ड्रोन चाहियो? त्यस्तै, अत्याधुनिक हतियार अरुलाई नबेच्ने वर्षौँदेखिको निर्णय उल्ट्याउँदै अमेरिकाले किन यो हतियार बेच्ने भयो?

यसको कारण के हो भने चिनियाँ सशस्त्र ड्रोनले मध्यपूर्व र उत्तरी अफ्रिकाको लडाइँको मैदानमा निकै ठूलो परिवर्तन ल्याएको छ। चिनियाँ ड्रोन यमनमा हुथी नेताहरुको हत्यामा प्रयोग भएको छ, सिनाइमा इस्लामिक लडाकुहरुलाई मार्न प्रयोग भएको छ। यसले लिबियाका खलिफा हफ्तारलाई पनि केही समय युद्धमा वर्चस्व हासिल गर्न सहयोग गर्‍यो।

अमेरिकाले सशस्त्र ड्रोन नबेच्ने भन्दै आएको थियो। तर, चीनका लागि त्यस्तो बाधा केही थिएन। त्यसैले उसले मध्यपूर्व र अफ्रिकामा ठूलो मात्रामा सशस्त्र ड्रोन निर्यात गर्‍यो।

चिनियाँ सशस्त्र ड्रोन बनाउने कारखाना पाकिस्तान, साउदी अरब र म्यानमारमा पनि खुलेका छन्। चीनले यतिधेरै ड्रोन बेचिसकेको छ– यसैकारण ऊ विश्वको दोस्रो ठूलो हतियार बिक्रेता बनेको छ।

चिनियाँ ड्रोन किन यतिधेरै लोकप्रिय बन्यो त?

मात्र केही वर्षभित्र चीनले अनुसन्धान र उत्पादनपछि सशस्त्र ड्रोनलाई परिष्कृत समेत तुल्याउन सफल भयो। जुन लडाइँमा सैन्य शक्तिको सन्तुलन नै बदलिदिन पर्याप्त थियो।

चीनले मुख्यगरी दुईखाले ड्रोन निर्यात गर्छ। पहिलो हो चाइनिज एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनले बनाएको काइ होङ सिरिजको ड्रोन। यसको सीएच–४ नामक ड्रोन सबैभन्दा लोकप्रिय छ। जुन, इजिप्ट, इराक र जोर्डनमा पनि बिक्री भएको छ।

CH-4.jpg

दोस्रो हो, चेङ्दु एयरक्राफ्ट इन्डस्ट्री ग्रुपले बनाएको विङ लुङ सिरिजको सशस्त्र ड्रोन। यो ड्रोनले लिबियाको युद्धभूमिमा केही समय हालिमुहाली चलाएको थियो।

दुवै खाले ड्रोनले लडाइँमा चमत्कार देखाएका छन्। दुवैको मार क्षमता राम्रो छ। यी ड्रोन धेरै उचाइमा उड्न सक्छन्, धेरै बम र क्षेप्यास्त्र बोक्न सक्छन्। त्यसमाथि यी बम सस्तो पनि छन्।

सीएच–४ ड्रोनको मूल्य ४० लाख डलर पर्छ। तर, अमेरिकामा बनेको रिपर एमक्यू–९ को मूल्य १ करोड ६० लाख डलर पर्छ।

यति हुँदाहुँदै पनि किन मुलुकहरु अमेरिकी ड्रोन किन्न चाहिरहेका छन् त?

चिनियाँ ड्रोन सफल भए पनि ती उत्कृष्ट भने होइनन्। तिनको स्याटलाइट कमान्ड र कन्ट्रोल राम्रो नहुँदा जमिनबाट हानेको प्रहार तिनले छल्न सक्दैनन्। त्यसैले धेरै चिनियाँ ड्रोन खसाइएको छ।

अर्कोतिर अमेरिकाको रिपर एमक्यू–९ ले भने लडाइँमा आफूलाई प्रमाणित गरिसकेको छ। यसलाई पृथ्वीको अर्को भागबाट पनि सञ्चालन गर्न सकिन्छ। त्यस्तै ठूलो गाइडेड क्षेप्यास्त्र पनि प्रहार गर्न सक्छ।

अमेरिकाले पहिले हतियार नबोक्ने ड्रोन यूएईलाई बेचेको थियो। तर, ऊ त्यतिले सन्तुष्ट भएन र चिनियाँ सशस्त्र ड्रोन किन्न थाल्यो।

तर, पछिल्लो समय इजरायलसँग सम्बन्ध गाँसिएसँगै यूएईले रिपर एमक्यू–९ ड्रोनका साथै एफ–३५ लडाकु विमान पनि किन्न पाउने भएको छ। तर, सन् २००७ देखि प्रयोगमा रहेको रिपर एमक्यू–९ ड्रोन पुरानो हुन थालिसकेको छ। चीनसँग प्रतिस्पर्धाको समयमा ऊ यसलाई विस्थापित गर्ने क्रममा छ।

अबको सशस्त्र ड्रोन अझ बलियो हुनुपर्नेछ। तिनको हतियार बोक्ने क्षमता, उड्ने गति र उचाइ अझ धेरै हुनुपर्नेछ। त्यस्तै स्वचालन क्षमता पनि बढी हुनुपर्नेछ। अर्थात्, सशस्त्र ड्रोन अब ‘आफैँ सोच्न सक्ने’ हुनुपर्नेछ।

यसको सुरुवात पनि भइसकेको छ। अमेरिकाकै ग्लोबल हक नामक ड्रोन एक पटक आदेश दिइसकेपछि मानिसको निर्देशन वा सहयोगबिनै आफ्नो मिसन पूरा गर्न सक्ने भइसकेको छ।

त्यस्तै भविष्यको ड्रोन सस्तो, नेटवर्कमा जोडिएको र सयौँ, हजारौँको संख्यामा साथै उड्न सक्ने हुनुपर्छ। ताकि केही ड्रोन खसेपनि त्यसले दुश्मनलाई हराउन सकोस्। अमेरिका र चीन दुवै यस खालको ड्रोन विकास गर्न लागिपरेका छन्। यदि चीन यस्तो ड्रोन विकास गर्न सफल भए उसले आफ्ना निकटस्थ मुलुकहरुलाई बेच्नेछ।

अहिले यूएईले रिपर एमक्यू–९ किन्दैछ। मध्यपूर्व र अफ्रिकामा प्रभावका लागि अमेरिका र चीनको प्रतिस्पर्धाबीच अब केही समयभित्रै ती ड्रोन लिबिया र यमनको आकाशमा उड्नेछन्। अल जजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad