सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा दुई पुराना वामपन्थी नेतालाई भेटेका छन्।
शुक्रबार गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष प्रचण्डले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय जगतबहादुर श्रेष्ठ र खम्बसिंह कुँवरसँग भेटघाट गरेका हुन्।
केही समयदेखि अस्वस्थ्य रहेका श्रेष्ठ र कुँवरलाई भेटन अध्यक्ष प्रचण्डले उनीहरुको घरमै पुगेका थिए।
नेता श्रेष्ठको निवास पुलचोकमा पुगी अध्यक्ष प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका थिए। केही दिनअघि घरमै लडेर गम्भीर बिरामी परेका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेको कारण मस्तिष्कमा रगत जमेको भन्दै अस्पतालले थप उपचार सम्भव नभएको जनाएको थियो।
पुराना वामपन्थी नेता जगतबहादुर श्रेष्ठको स्वास्थ्य अवास्थाबारे जानकारी लिँदै अध्यक्ष प्रचण्ड
अस्पतालबाट डिस्चार्ज गरेपछि श्रेष्ठलाई घरमै अक्सिजन दिएर राखिएको श्रेष्ठका छोरा सुधिर श्रेष्ठले बताए। अध्यक्ष प्रचण्डले श्रेष्ठले कम्युनिष्ट आन्दोलन र निष्ठाको राजनीतिमा खेलेको भूमिकाको चर्चा गर्दै उपचार र स्वास्थ्यमा विशेष ख्याल गर्न परिवारजनलाई आग्रह गरे।
अध्यक्ष प्रचण्डले शनिबार नै अर्का पुराना वामपन्थी नेता कुँवरको निवासमा पुगेर उनीलाई भेटघाट गरेका हुन्। लामो समयदेखि प्रोस्टेटको समस्यामा रहेका कुँवरले अहिर घरमै स्वास्थ्यलाभ गरिरहेका छन्। अध्यक्ष प्रचण्डले नेता कुँवरको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उच्च मनोबलका साथ जिउन आग्रह गरे।
काजीबा उपनामले चर्चित कुँवरले तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध संचालन गर्दा अध्यक्ष प्रचण्डको मुख्य रणनैतिक सल्लाहकारको भूमिका निभाएका थिए। पार्टी एकतापछि बनेको नेकपाले सत्ता संचालनको मौका पाएर पनि जनताको पक्षमा ठोस् काम गर्न नसकेको भन्ने नेता कुँवरको गुनासो रहेको छ।
सो भेटघाटमा अध्यक्ष प्रचण्डसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्ष नारायणप्रसाद दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको सहभागिता थियो। पारिवारिक भेटघाटमा शुक्रबार चितवन आएका अध्यक्ष प्रचण्ड शनिबार नै काठमाडौँ फर्कंने कार्यक्रम रहेको छ।

प्रतिक्रिया