नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सांसदमा मनोनीत गरेकाप्रति साझा पार्टीले ‘गम्भीर आपत्ति’ प्रकट गरेको छ।
प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा पराजित नेता गौतमलाई राष्ट्रिय सभामा लगिएको भन्दै साझा पार्टीले शुक्रबार विज्ञप्ति जारी गरी विरोध जनाएको हो।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आम रूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताका नाममा ‘कम्युनिस्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो।’
यो आम नागरिकको अपेक्षाको ठाडो उपहास तथा लोकतन्त्रको मूल्य/मान्यता र संविधानको भावनामा निर्मम प्रहार भएको साझा पार्टीको आरोप छ।
संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रिमण्डलमा नलैजानसमेत साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।
अन्यथा जनआक्रोश अत्यन्त चुलिएको समयमा यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्ने चेतावनी पनि साझाले दिएको छ।

प्रतिक्रिया