दुई पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेपछि पहिलोपटक तत्कालीन माओवादी पार्टीको पेरिसडाँडास्थित कार्यालयमा पार्टीको सचिवालय बैठक बस्न लागेपछि तयारी तिब्र पारिएको छ।
शुक्रबार बिहान ११ बस्न लागेको सो बैठकका लागि सो पार्टी कार्यालयको सबैभन्दा माथिल्लो तलामा बैठक राख्ने तयारी गरिएको छ।
तत्कालीन नेकपा–एमाले र माओवादीबीच पार्टी एकीकरण हुनुअद्धि पुर्व माओवादी केन्द्रका केन्द्रीय तहका बैठक सोही हलमा हुने गरेको थियो।
सचिवालय बैठकको लागि बिहीबार नै भौतिक दुरी कायम गरेर टेबल, कुर्सी मिलाइसकिएको छ।
पार्टी एकीकरणयता त्यहाँ केन्द्रीय स्तरका बैठकहरु नभएका कारण शुक्रबारको बैठकका लागि व्यापक तयारी गर्नुपरेको त्यहाँ खटिएका एक नेताले बताए।

यसअघि बालुवाटारमा बस्ने गरेको नेकपाको सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा हुने भएकोले सबै व्यवस्थापन बिहीबार नै मिलाइएको हो। बैठकस्थल र वरपर बिहीबारदेखि नै सुरक्षाव्यवस्था कडा बनाइएको छ।
सचिवालयका नौ सदस्यबाहेक अरुलाई प्रवेश निषेध गर्ने निर्देशन दिइसकिएको छ। बैठक सुरु भएपछि मुख्य गेट बन्द गर्न सुरक्षाकर्मीलाई निर्देशन गइसकेको छ। स्रोतका अनुसार बैठकस्थल र वरपरको सुरक्षा व्यवस्था प्रधानमन्त्री कै सुरक्षा टीमले गर्नेछ।
पहिलो पटक पेरिसडाँडामा बस्न लागेको बैठक र प्रधानमन्त्री केपी शर्मा ओली समेतको उपस्थिति हुने भएकोले बैठकस्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको हो।
बिहीबार साँझ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलसँग बैठकबारे छलफल गरेका छन्।
बैठकको तयारी, एजेण्डा लगायतका विषयमा अध्यक्ष प्रचण्डले छलफल गरेका हुन्।
त्यसअघि बिहीबार नै उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यको शपथ ग्रहण कार्यक्रममा प्रचण्ड पुगेका थिए।
बिहीबार नै प्रचण्डलाई स्थायी समिति सदस्य भीम रावल लगायतका नेताहरुले उनको खुमलटार निवासमा पुगेर भेट गरेका थिए।

पाटीभित्र चर्किएको विवाद समाधान भएपछि अब पार्टीका सबै संयन्त्र र गतिबिधि महाधिवेशन–केन्द्रित गर्ने निर्णय गरिएको छ।
भोलि (शुक्रबार) बस्ने बैठक मुख्यगरी मन्त्रीमण्डल हेरफेर, रिक्त संबैधानिक आयोगमा पदाधिकारी नियुक्ती र पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने दिशामा केन्द्रित रहेर छलफल हुने एक सचिवालय सदस्यले बताए।

प्रतिक्रिया