आफ्ना गलत हर्कत सुधार्न तथा सीमामा चिनियाँ सेनासँग निहुँ खोज्ने क्रियाकलाप चाँडोभन्दा चाँडो बन्द गर्न चीनले भारतलाई चेतावनी दिएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हाल भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको विवादमा भारत जिम्मेवार भएको आरोप पनि लगाएका छन्।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार विदेश मन्त्रालयको दैनिक ब्रिफिङका क्रममा प्रवक्ता वेनबिनले भने, ‘पहिले भारतले दुई पक्षीय सहमति उल्लंघन गर्याे, अवैध तरिकाले सीमा नाघ्न उक्सायो, सीमा क्षेत्रको यथास्थितिमा एकतर्फी परिवर्तन गरायो र चीनका सैनिकलाई धम्क्याउन गोली चलायो।’
चीनको यो प्रतिक्रिया आउनु एक दिनअघि भारतका रक्षामन्त्री राजनाथ सिंहले संसदमा सम्बोधन गर्दै चीनले सीमा उल्लंघन गरेको आरोप लगाएका थिए।
ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले लेखेका छन्, ‘शान्ति र युद्ध दुवैका लागि चीन तयार छ।’
उनले अगाडि लेखेका छन्, ‘चिनियाँ सेनाले चीन–भारत सीमामा आफ्नो तैनाथी बढाइरहेको छ र कठोर कार्बाही गरिरहेको छ। यसबाट भारतीय सेनालाई थाहा भइसकेको हुनुपर्छ– चीनसँग सैन्य टक्कर लिनु भनेको एउटा यस्तो जुवा हो, जुन झेल्न सकिँदैन।’
याे पनि : भारत-चीन सीमा विवाद : लद्दाखमा फेरि चल्यो २ सय राउन्ड गोली

प्रतिक्रिया