कोरोना संक्रमणका कारण चीनतर्फको नाका आठ महिनादेखि बन्द अवस्थामा छन्। माघदेखि तातोपानी नाका र रसुवागढी नाकाबाट न त सामान आयात हुन पाएको छ न त निर्यात नै।
त्यसको मारमा उपभोक्तादेखि व्यवसायी समेत परेका छन्। नाका बन्द हुँदा माघमा नै आउनुपर्ने करिब १ हजार कन्टेनर ती दुई नाकामा थुप्रिएर बसेका छन्।
नाका सुचारु हुने आशामा व्यवसायीले थप सामानहरु पनि सोही नाका हुँदै ल्याउने प्रयत्न गरे। केही दिन नाका सुचारु पनि भयो तर पुनः बन्द भयो।
नाकामा नै आइसकेको सामान, जो दशैँको लागि केन्द्रित थियो अब तत्काल आउन कठिन देखिएको व्यवसायीहरुको गुनासो छ। व्यवसायीहरुले नाकामै आइपुगेको सामान फेरि चीनबाट भारत हुँदै नेपाल भित्र्याउन बाध्य भएका छन्।
ती सामानमा धेरै अटोको पाटपुर्जा रहेको व्यवसायीहरुको भनाई छ।
नेपालमा चीनमा नै निर्मित मोटरसाइकलहरु पनि आयात हुने गर्छन्। साथै धेरै ब्राण्डका पाटपुर्जाहरु पनि आयात हुने गर्छन्।
नेपालमा गाडी, मोटरसाइकलहरु सबै भन्दा धेरै बिक्री हुने समय भनेको नै दशैँको अवसर हो। त्यसकारणले पनि उनीहरु नाका सुचारु हुने पर्खाइमा नबसेर भारत हुँदै सामान आयात गर्न बाध्य भएका हुन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले चीनसँगका नाका सुचारु गर्न दबाव दिइरहेको जनाएकाे छ। तर आश्वासन मात्रै पाएकाे व्यवसायी बताउँछन्।
महासंघका अध्यक्ष नरेश कटुवालले भने ‘हामीलाई सरकारले नाका सुचारु गरेर व्यवसयीलाई राहात समेत दिने आश्वासन मात्रै पायौँ। १० महिना बित्दासमेत पहल तथा सहजीकरण केही गरेको छैन। अहिले व्यवसायीहरु पीडित बनेका छन्।’
व्यवसायीहरुले यस सम्बन्धमा तालुकदार निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत आफ्नो समस्या राखिसकेका छन्।
व्यवसायीहरुको गुनासोको बारेमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज बताएका छन्।
उनले भने ‘मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्नेछ। केरुङ र तातो पानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल सुरु गरिसकेको समेत छ।’
याे पनि: केरुङ नाकामा १० महिनादेखि रोकिएका हजार बढी कन्टेनर ल्याउन व्यवसायीकाे माग

प्रतिक्रिया