ad ad

राजनीति


१० जना मन्त्री फेरौँः प्रचण्ड, रिक्त मन्त्रालयमा ५ जना मात्र पठाऔँः ओली

१० जना मन्त्री फेरौँः प्रचण्ड, रिक्त मन्त्रालयमा ५ जना मात्र पठाऔँः ओली

सागर न्यौपाने
भदौ २९, २०७७ सोमबार १६:२०,

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अब मन्त्रिमण्डल पुनर्गठनका लागि छलफल सुरु हुने बताएका छन्।

सोमबार खुमलटारमा भेला भएका आफूनिकट नेताहरुसँग प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल सुरु गरिने बताएका हुन्।

‘हिजोसम्म आन्तरिक सर्कुलर तयार गर्न लागेका थियौं, अब मन्त्रिमण्डल पुनर्गठनका विषयमा प्रधानमन्त्रीसँग छलफल हुन्छ,’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने, ‘मैले सबैलाई अवसर दिनेगरी मन्त्री परिवर्तन गर्नुपर्छ भनेको छु।’

नेकपाका महासचिव विष्णु पौडेलले पनि मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु नै नभएको बताए।

‘प्रधानमन्त्रीले कस्तो मन्त्रिपरिषद बनाउने भन्नेबारे एउटा सोच बनाउनु भएको हुन सक्छ तर, त्यसबारे हामीसँग छलफल चाहिँ भएको छैन’, महासचिव पौडेलले भने, ‘दुई वर्ष पुगेका मन्त्रीहरू हटाउने वा को को राख्ने भन्दा पनि कार्य क्षमताका आधारमा के गर्ने भन्ने मुल्याङ्कन हुन्छ होला।’

कम्तीमा १० मन्त्री फेर्ने आफ्नो चाहना रहेको प्रचण्डले बताएका छन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने पदासीन मन्त्री नहटाउने बरु रिक्त रहेका तीन र मन्त्रालय फुटाएर दुई गरी पाँच मन्त्री मात्र नियुक्त गर्ने चाहना राखेको उच्च स्रोतहरूले जनाएका छन्।

‘अहिले धेरै मन्त्री परिवर्तन गर्दा प्रधानमन्त्रीको काम गर्ने स्पिरिटमा समस्या हुन्छ, रिक्त रहेको मन्त्रालयमा मात्र नियुक्त गरौं भनेर प्रचण्डलाई भन्नुभएको छ’, ओलीनिकट एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘दुई वर्ष पुगेका सबै मन्त्री परिवर्तन गर्न उहाँ चाहनुहुन्न।’

तर, मन्त्रिमण्डल परिवर्तनको मोडालिटी नै तयार गर्नुपर्ने प्रचण्डको प्रस्ताव छ।

‘कोहीलाई अवसर दिने कोहीलाई बाहिर राख्ने भन्ने हुँदैन, सबैलाई मिलाएर अवसर दिनुपर्छ भन्ने मेरो जोड छ, प्रधानमन्त्रीले त्यसो नगरौं भन्नुहुन्छ,’ प्रचण्डले नेताहरुसँग भनेका थिए।

अर्कोतिर प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यलाई मन्त्री बनाउने चाहना राखेको उनी निकट नेताहरु बताउँछन्।

‘सकभर स्थायी समितिकै सदस्यलाई मन्त्री बनाउने इच्छा प्रधानमन्त्री ओलीले राख्नुभएको छ, त्यसो गर्दा पार्टीभित्रको समीकरणमा पनि सन्तुलन कायम गर्न सकिन्छ भन्ने बुझाइ उहाँमा देखिन्छ,’ ओली निकट ती नेताले थपे।

मन्त्रिमण्डलमा भागबण्डा?
मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि सहमतिमा ल्याउनुपर्ने अवस्था छ।

पार्टीभित्र विधि र प्रक्रियाको आवाज उठाउँदै आएका नेता नेपालको माग सम्बोधन गर्नेगरी मन्त्रीहरु हेरफेर हुने नेताहरु बताउँछन्।

‘प्रचण्डले चाहेको जसरी मन्त्री फेरिए कम्तीमा १० जना मन्त्री फेरिन्छन्, ओलीले चाहनुभएन भने रिक्त रहेका तीन र फुटाइने २ मन्त्रालय गरेर पाँचजना नयाँ जान्छन्, त्यसमै भागबण्डा हुनसक्छ,’ ती नेताले भने।

उर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भइरहेको नेताहरु बताउँछन्।

असोजको दोस्रो हप्तासम्ममा मन्त्रिमण्डल फेरबदल भइसक्ने नेताहरुले बताएका छन्।

एकताको सन्देशसहितको आन्तरिक सर्कुलर
कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी विवाद समाधानपछि एकता मजबुत भएको सन्देशसहितको आन्तरिक सर्कुलर तल्लो तहसम्म पठाएका छन्।

स्थायी समितिको भदौ २६ गते बसेको बैठकले पारित गरेका निर्णयहरुसहितको सर्कुलर सोमबार उनले पार्टीको सबै तहसम्म पठाएका हुन्।

‘सर्कुलर बनाएर आज पठाएँ, अब महाधिवेशनको माहौल सुरु भयो,’ प्रचण्डले नेताहरुसँग भने, ‘पार्टी एकतापछिको यो निर्णयले सबैलाई एकताको स्पिरिटमा अघि बढ्न हौसला बढाउनेछ।’

प्रचण्डले एकताको बाँकी काम समेत अघि बढाइने बताए।

प्रधानमन्त्री ओली, प्रचण्ड र महासचिव विष्णु पौडेलबीच आइतबार साँझ भएको छलफलले सर्कुलर पठाउने निर्णय गरेको थियो।

भदौ २६ गते बसेको स्थायी समितिको बैठकले वैशाख ८ गतेदेखि पार्टीभित्र चुलिएको विवादको अन्त्य गर्दै महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको थियो। बैठकले ओली र प्रचण्डले पार्टीभित्रको विवाद समाधानको लागि प्रस्तुत गरेको १५ बुँदे प्रस्ताव पारित गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .